काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गर्नुका साथै वार्षिक साधारणसभा (एजीएम) डोकेको छ। 

कम्पनी सञ्चालक समितिको शुक्रबार (मंसिर १६ गते) बसेको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गर्नुका साथै वार्षिक साधारणसभाको मिति तय गरेको हो।

कम्पनीको उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको ५.२६ प्रतिशतले हुन आउने ६ करोड ४३ लाख ४० हजार ९३५.४२ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। 

सोही बैठकले कम्पनीको १० औँ वार्षिक साधारणसभा आउँदो पुस २० गते आयोजना गर्ने निर्णय पनि गरेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।