– अर्जुन तिमिल्सिना

काठमाण्डौ । ‘सेयर बजार र मायामा सबै जायज हुन्छ।’ यो भनाइ अहिले नेपालको सेयर बजारमा ज्वलन्त उदाहरण बनेको छ। 

सेयर बजारमा एउटा भनाइ सधैँ सुनिन्छ– ‘बजार कति बढ्यो ? यो बुल कहिले सकिन्छ ?’ यतिबेला नेसनल हाइड्रोपावर कम्पनी (एनएचपीसी) को सेयरभाउलाई आधार मानेर विभिन्न अड्कलबाजी चलिरहेको छ। हरेक बुलमा जब यो कम्पनीको मूल्य ३०० रुपैयाँको पेरिफेरीमा चल्छ तब सेयर बजारको बुल पनि लगभग सकियो भन्नेको जमात बजारमा ठूलै छ। 

लगानीकर्ता दिनेश थपलिया भन्छन्, ‘अघिल्लो बुलमा एनएचपीसी ३०० रुपैयाँ माथिबाट फर्केपछि बुल सकिएको थियो, अहिले पनि त्यस्तै त हुन्न ?’

सक्रिय लगानीकर्ता मेघनाथ निरौला भने एनएचपीसीलाई आधार मानेर चलिरहेको अड्कलबाजी मान्न तयार छैनन्। ‘किनकि सबै बुलमा कम्पनीको मूल्य त्योबराबर नै पुग्न पनि सक्छ र नपुग्न पनि सक्छ’, उनले भने, ‘एउटामात्रै कम्पनीको मूल्यका आधारमा समग्र बुल बजारको निक्र्यौल गर्न मिल्दैन।’ 

बैंकिङ सेक्टरमा बुल आइनसकेको अवस्थामा बुलिस ट्रेन्ड सकियो भनेर भन्न नमिल्ने निरौलाको भनाइ छ। ‘सबै सेक्टरमा बुल नआएसम्म सेयर बजारमा बुलिस ट्रेन्ड सकिन्न’, उनी भन्छन्, ‘केही वित्तीय सूचक कमजोर भएका कम्पनीका सेयरमूल्य पक्कै माथि गएको छ तर लगानीकर्ताहरु विस्तारै अब राम्रा कम्पनीमा आउनुको विकल्प छैन।’

अहिले बजार घटेको घट्यै छ। तर, एक/दुई कम्पनीको सेयरभाउ बढेको बढ्यै छ। यसको अर्थ कुनै कम्पनीको मूल्य बढ्नै हुन्न भनेको होइन। ‘तर केही कम्पनी किन यसरी बढ्छन् ? कतै कुनै समय पहिला नेपाल धितोपत्र बोर्डले भन्दै आएको सेयर बजारमा कर्नरिङ र सर्कुलर ट्रेडिङ त भएको छैन ?’, लगानीकर्ता प्रमोद पौडेलले आशंका व्यक्त छन्। 

केही बजार जानकार नेगेटिभ नेटवर्थ भएका प्रतिसेयर आम्दानी भने अस्वाभाविक भएको बताउँछन्। ‘१० वर्षसम्म चलेका त्यस्ता कम्पनी सबै विषय हेर्दा विगत ठिक छैन, वर्तमान पनि ठिक छैन भने कसरी सुरक्षित भएर लगानी गर्ने ? यसमा त सर्वसाधारण फस्ने नै हो’, एक बजार जानकारले भने, ‘सबै लगानीकर्ता समान चेतना भएका बजारमा हुन्नन्। विगत र वर्तमान नै खराब भएका कम्पनीप्रति लगानीकर्ता सचेत हुनै पर्छ।’

नियामकले पनि निकै चनाखो भएर प्रत्यक्ष रुपमा बजारमा हेरेर नियमन गर्नुपर्ने बजार जानकारहरुको सुझाव छ। एनएचपीसीमात्रै होइन एचआईडीसीएलको मूल्य देखेर पनि धेरै लगानीकर्ता अहिले अचम्म पर्न थालेका छन्। केही समयपहिले यो कम्पनीको सेयर किनेकोमा हाल दैनिकजसो मूल्यमा उछाल आउँदा महिला लगानीकर्ता लक्ष्मी ढकाल दंग छिन्।

लगानीकर्ता प्रमोद पौडेल आशंका गर्छन्, ‘केही बैंकले मुद्दति निक्षेप (एफडी) मा ब्याज बढाएर विज्ञापन निकालेका छन्, पुँजी त्यता मोडिने त होइन ?’ 

पौडेल ढुक्क भने छैनन्। उनी भन्छन्, ‘केही समय बजारको मुभ नहेरी भन्न मुस्किल छ।’