काठमाण्डौ । यूएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) ले नेपालमा साना तथा मझौला व्यवसाय कर्जाहरुको वित्तीय आवश्यकता पूरा गर्न दिगो बैंकिङ क्षेत्रको नेपालकै अग्रणी बैंक एनएमबि बैंकलाई १० करोड अमेरिकी डलर वैदेशिक ऋण स्वीकृत गरेको छ।

डीएफसी अमेरिकी सरकारको विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना गरिरहेको चुनौतीहरुको समाधानका लागि ऊर्जा, स्वास्थ्य सेवा, पूर्वाधार र प्रविधिलगायत क्षेत्रमा वित्तीय लगानी गर्दै आइरहेको संस्था हो। 

एनएमबि बैंक र डीएफसीबीचको साझेदारीले नेपालको साना तथा मझौला व्यवसायलाई उद्यमशीलतामार्फत आत्मनिर्भरताका लागि महिलाहरुलाई प्राथमिकतामा राखेर नयाँ अवसरहरु सिर्जना गर्न बैंकले मद्दत गर्नेछ। एनएमबि बैंक उत्पादनशील र प्राथमिकता क्षेत्रमा अन्तर्राष्ट्रिय ऋण लगानी भित्र्याउने नेपालको पहिलो बैंक हो। 

हालको बैंकिङ तरलताको परिदृश्यमा यसरी देशमा भित्रिने बाह्य वित्तीय स्रोतले देशकै आवश्यकताअनुरुप उत्पादनमूलक तथा प्राथमिकताको क्षेत्रमा लगानी बढाउन बैंकले विश्वास लिएको छ।

एनएमबि बैंकले जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि तथा साना तथा मझौला उद्योगमा ऋण पुँजीका लागि डीएफसीसहित हालसम्म नौ डेभलपमेन्ट फाइनान्सियल इन्सिटच्युसनबाट कुल ३०१.५० मिलियन अमेरिकी डलर ऋण भित्र्याइसकेको छ।

एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।   

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।