काठमाण्डौ । एनएमबि बैंक लिमिटेड र दराज नेपालबीच दराज नेपालका बिक्रेताहरुलाई बिना धितो विद्युतीय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ। 

विशेषगरी बैंकिङ पहुँच कम भएका, उत्पादनशील उद्यमसँग जोडिएका, स्टार्टअप फर्म तथा कम्पनीहरुलाई दराज नेपालसँगको कारोबारका आधारमा रु. ५ लाखसम्मको चालुपुँजी कर्जा प्रदान गर्ने उद्देश्यअनुसार गरिएको सम्झौतापत्र एनएमबि बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र दराज नेपालका तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले आदान–प्रदान गरेका थिए।

सम्झौताका बारेमा बोल्दै बैंकका नाबव प्रमुख कार्यकारी अधिकृत घिमिरेले अर्थतन्त्रको वास्तविक क्षेत्र तथा डिजिटलाइजेसनलाई प्राथमिकता दिइरहेका र यस कर्जामार्फत ग्राहकले अनलाइनमार्फत आवेदन दिएको केही मिनेटभित्रै कर्जा उपलब्ध गराउने प्रविधिको विकास गरेको र यस कर्जामार्फत धेरैभन्दा धेरै एमएसएमई कर्जाका ग्राहकको आवश्यक चालुपुँजी पूर्ति गर्ने बैंकले विश्वास लिएको बताए।

यस कर्जा कागजरहित, झन्झटरहित र छिटोछरितो रुपमा डिजिटल रुपमा प्राप्त हुने भएकोले नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानमा बैैंकले लिएको यो प्रयास कोशेढुंग साबित बैंकले विश्वास लिएको छ।

एनएमबि बैंक विगत २७ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा–सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैंकले दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।