काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र आज आइतबारबाट खुला गरेको छ। 

बैंकले ‘एनएमबि ऋणपत्र ८.५%– २०८७÷८८’ नामक ऋणपत्र आजबाट बिक्री गरेको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ऋणपत्र निष्कासन गरेको छ। 

कुल इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको हो। सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ८ लाख इकाइमध्ये ५ प्रतिशतले हुन आउने ४० हजार इकाइ सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ भने बाँकी ७ लाख ६० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा ८ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्ति आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा जेठ ५ गते र ढिलामा जेठ १६ गते बैंकिङ समयपछि हुनेछ। 

एनएमबि बैंकको यो दसवर्षे ऋणपत्र निष्कासनका लागि धितोपत्र बोर्डले गत वैशाख ५ गते अनुमति दिएको थियो। यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।