काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकले आगामी भदौ १ गतेदेखि एकीकृत बित्तीय कारोबार थाल्ने भएका छन् । 

यी दुई बैंकबीच निकै छोटो समयमै मर्जर प्रक्रिया टुङ्गिने भएको हो । 

यी दुई बैंकको मर्जर सम्झौताको क्रममा २ महिनाभित्रै मर्जर प्रक्रिया सक्ने घोषणा गरिएको थियो । तर, मर्जर सकिएर एकीकृत कारोबार गर्दासम्मको अवधिमा ३ महिना समय व्यथित हुने भएको छ । यसलाई छोटो अवधिकै मर्जर मान्नुपर्छ ।

मर्जर प्रक्रिया धेरै महत्वपूर्ण काम सकिइसकेको र दुई बैंकबीच भदौ १ गतेदेखि संयुक्त कारोबार थाल्ने सहमति बनेको स्रोतले जनाएको छ । 

‘डिडिए रिपोर्ट समेत २–३ दिनभित्रै आउँदैछ ।’ एनएमबी बैंकस्थित उच्च स्रोतले भन्यो–‘हालसम्मको अवस्था हेर्दा १००: ७६/७७ सम्मको सेयर स्वाप अनुपात आउने संभावना देखिन्छ ।’ 

डिडिए रिपोर्टपछि साउनभित्र दुवै बैंकले विशेष साधारणसभा आह्वान गरी गाभ्ने/गाभिने प्रस्ताव पारित गर्नेछन् । त्यसपछि नियामकहरुको स्वीकृतिसँगै भदौ १ गतेदेखि एकीकृत कारोबार थाल्ने यी दुई बैंकको तयारी छ । 

मर्जरका लागि सबैभन्दा ठूलो चुनौति रहने कर्मचारी समायोजनको काम लगभग ९५ प्रतिशत सकिइसकेको स्रोतको भनाई छ । ‘ओम डेभलपमेन्ट बैंकका धेरै कर्मचारी पहिलाकै पोष्टमा रहन्छन् ।’ उच्च स्रोतले भन्यो–‘केहीको भने समायोजन हुनेछ ।’ 

नेपाल राष्ट्र बैंकले एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जान एकसाताअघि सैद्धान्तिक स्वीकृति प्रदान गरिसकेको छ ।

यी दुवै बैंकले राजधानीमा आयोजित एक समारोहबीच गत जेठ २ गते मर्जर सम्झौतामा हस्ताक्षर गरेका थिए । 

प्राइम कमर्सियल बैंकसँग गत वर्ष भदौ ३ गते एक्वायरको सम्झौता गरेको ओम डेभलपमेन्ट बैंक सो प्रक्रिया टुटेपछि एनएमबीसँग मर्ज हुन लागेको हो। 
‘क’ वर्गका बैंकमध्ये पृथक पहिचान बनाएको एनएमबी र ‘ख’ वर्गका बैंकहरुमा समेत पृथक पहिचान नै बनाएको ओम डेभलपमेन्ट बैंकबीचको मर्जरलाई समग्र उद्योगले चासोको साथ हेरिरहेको छ । 

यी दुई बैंक मिलेर बन्ने एकीकृत संस्था निकै मजबुत हुने र अझ पृथक बन्ने दुवै बैंकका अधिकारीहरुले दाबी गरेका छन् । 

दुई बैंक एक भएपछि बन्ने संस्थाको शाखा संख्या १६३ पुग्नेछ भने ५ वटा एक्सटेन्सन काउण्टर र १२० वटा एटीएमको सञ्जाल हुनेछ ।

मर्जर पश्चात बैंकको कुल पूँजी तथा जगेडाकोषमा वृद्धि भई २० अर्ब ४२ करोड हुनेछ भने निक्षेप र कर्जाको आकार क्रमशः १ खर्ब १९ अर्ब र १ खर्ब १३ अर्बको उचाईमा पुग्नेछ । 

हाल एनएमबी बैंकको चुक्तापूँजी ९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने ओमको दुई अर्ब ५१ करोड रुपैयाँ छ। स्वाप रेसियो ८० प्रतिशत भयो भने ओमको पूँजी घटेर २ अर्बको हाराहारीमा आउनेछ । यसरी दुई संस्था मर्ज भई बन्ने एकीकृत संस्थाको चुक्तापूँजी ११ अर्ब ६१ करोड माथि हुनेछ ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार एनएमबी बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २२.८९ रुपैयाँ र ओम डेभलपमेन्ट बैंकको १८.४१ रुपैयाँ रहेको छ । 

दुवै संस्था खराब कर्जाको अनुपात अत्यन्त कम कायम गरेका बैंकहरु हुन् ।

तेश्रो त्रैमासको रिपोर्टअनुसार एनएमबी बैंकमा यस्तो कर्जाको अनुपात ०.७९ प्रतिशत र ओममा ०.९५ प्रतिशत छ । न्यून खराब कर्जा भएका संस्था गाभिन लागेकाले एपेक्सका कारण एनसीसीलाई अप्ठ्यारो परेजस्तो परिस्थिति यहाँ सिर्जना नहुने देखिन्छ । 

दोश्रो बजारमा एनएमबी बैंकको सेयरको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ३८२ रुपैयाँ रहेको छ भने ओमको प्रतिकित्ता १९७ रुपैयाँ रहेको छ । 
मर्जरपछि बन्ने एकीकृत संस्थाको नाम ‘एनएमबी बैंक’ नै हुनेछ ।