काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा छलाङ मारेको छ । 

बैंकले मंगलबार प्रकाशन गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा यो वर्ष वितरणयोग्य मुनाफामा ४१.१३ प्रतिशतको वृद्धि गरेको हो । 

अघिल्लो वर्ष ४३ करोड ८० लाख रहेको यस्तो नाफा बढेर यो वर्ष ६१ करोड ८२ लाखको उचाईमा पुगेको छ । 

बैंकले खूद नाफातर्फ ६९.५४ प्रतिशत र संचालन मुनाफातर्फ ५८.५० प्रतिशतको छलाङ मारेको छ । अघिल्लो वर्ष ४६ करोड ७९ लाख रहेको खूद नाफा बढेर ७९ करोड ३३ लाख पुगेको छ भने ६६ करोड ३५ लाखमा सीमित संचालन मुनाफा बढेर १ अर्ब ५ करोडको उचाईमा पुगेको छ । 

व्यवसाय बिस्तारमा व्यवस्थापनले ध्यान दिएका कारण र ब्याज खर्चमा नियन्त्रण गरेका कारण खूद ब्याज आम्दानी ६८.७९ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्ष ८२ करोड ७४ लाखमा सीमित यस्तो आम्दानी बढेर यो वर्ष १ अर्ब ३९ करोडको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा बैंकको निक्षेप र कर्जातर्फको वृद्धि समेत सन्तुलित देखिएको छ । ५२ अर्ब ४७ करोड निक्षेप संकलन गरेको बैंकले ५१ अर्ब ४० करोड कर्जा परिचालन गरेको छ । १ अर्ब ६७ करोड सापटी लिएको छ । 

अघिल्लो वर्षको तुलनामा निक्षेप २५.०१ प्रतिशतले बढाएको बैंकले कर्जा २२.७६ प्रतिशतले बढी बिस्तार गरेको छ । 

बैंकको २ अर्ब ८९ करोडमा सीमित रिजर्बको आकार बढी ३ अर्ब ५१ करोडको उचाईमा पुगेको छ ।

बैंकको खराब कर्जा(एनपिएल) भने ह्वात्तै बढेको देखिएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ०.७३ प्रतिशतमा सीमित खराब कर्जा बढेर यो वर्ष १.७८ प्रतिशत पुगेको हो । 

समीक्षा अवधिमा १०.८२ प्रतिशत बेसरेट कायम गरेको बैंकको वार्षिकीकृृत प्रतिसेयर आम्दानीतर्फ ६९.४८ प्रतिशतको फड्को मारेको छ । अघिल्लो वर्ष ११.५७ रुपैयाँमा सीमित इपीएस बढेर यो वर्ष १९.६२ रुपैयाँ पुगेको हो ।

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४३.४० रुपैयाँ, मूल्य आम्दानी अनुपात ९.६३ गुणा, सीसीडी रेसियो ७७.२९ प्रतिशत कायम भएको छ ।