काठमाण्डौ । नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष भूवनकुमार दाहालले देशको न्यायपालिका चलाएर बसेकाहरुले ‘बैंकरहरु सबै फटाहा र बदमास हुन्’ भन्ने संकीर्ण सोंच राख्ने गरेका आरोप लगाएका छन् । 

नेपाल बैंकर्स संघ(एनबिए)को ३३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले त्यस्तो आरोप लगाएका हुन् । 

नेपालका न्यायपालिका मात्र नभई कर्मचारीतन्त्र, प्रहरी प्रशासनमा पनि बैंकरप्रतिको यही बुझाई रहेको भन्दै यसलाई तोड्नुपर्ने चुनौति रहेको बताए । 

‘हाम्रो महान्याधिवक्ता, सरकारी वकिलको कार्यालय, कर्मचारीतन्त्र र प्रहरी प्रशासन समेत सबै बैंकर बदमास हुन्छन् भन्ने गलत सोंचको शिकार भइरहेका छन् ।’ उनले भने–‘यो सोंचलाई ब्रेक गर्न आवश्यक छ । यसमा नेपाल राष्ट्रबैंकले समन्वयकारी भूमिका खेल्नुपर्छ ।’ 

बैंकर अजय श्रेष्ठलाई कमसल धितो राखी कर्जा प्रवाह भएको विषयमा फसाइएको प्रसङ्ग उल्लेख गर्दै यो घटनापछि बैंकका सीइओ र उच्च व्यवस्थापनका कर्मचारी त्रासमा रहेका उनले बताए । 

‘यो लेभलमा किन काम गर्ने ? फसिने पो हो कि भन्ने सोंचले काम गरिरहेको छ अहिले ।’ उनले थपे–‘किनभने अहिले इमानदार बैंकर पनि फसिरहेका छन् । बैंकिङ व्यवस्था र बुझाईमै कमजोरी देखियो ।’ 

उनले यस्तै घटनाका कारण बैंकप्रतिको प्रोफेसनल इन्ट्रेस्ट घटिरहेको समेत दाबी गरे । 

उनले कुनै बैंकर फटाहा नै साबित भए ऊमाथि कारबाही हुनुपर्ने, तर इमानदार बैंकरलाई अनाहकमा फसाउने व्यवस्था परिवर्तनका लागि तीव्र लविङ आवश्यक रहेकोमा जोड दिए । 

‘प्रहरीका साथीहरुसँग कुरा गर्दा पनि हस्ताक्षर गरेपछि सकियो भन्नुहुन्छ, यहीकारण अहिले हामी बैंकर तनावको जिन्दगी बाँचिरहेका छौ ।’ उनले थपे–‘तर बैंकरहरुले पनि धेरै लोभी बन्नु हुँदैन ।’ 

नेपालका बैैंकका सीइओहरुको तलब नियामक नेपाल राष्ट्रबैंकका गभर्नरको तलब भन्दा कैयौ गुणा बढी रहेको उल्लेख गर्दै उनले धेरै लोभी बनेर समग्र उद्योगकै बद्नाम गर्न नहुनेमा पनि जोड दिए । ‘गभर्नर साबको तुलनामा हाम्रो तलब कति बढी छ ? सोचौं त, त्यसकारण हामीले व्यवसायिक बैंकर बन्न आवश्यक छ । प्रतिव्यक्ति आय १ हजार डलर हुने देशमा बसेर हामीले जे पाएका छौ, धेरै पाएका छौ । सन्तोष मान्नुपर्छ ।’ उनले थपे ।  

उनले पहिलो त्रैमासमा बैंकरहरुको प्रफिट हिट भएको उल्लेख गर्दै राष्ट्रबैंकले कतिपय व्यवस्था संसोधनमा ध्यान दिइनुपर्ने माग गरे ।