काठमाण्डौ । कोरोना महामारीबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखी बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले प्रदेशका अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरिरहेको छ। 

कोरोना संक्रमणसँगै मुलुकमा अक्सिजनको हाहाकार मच्चिन थालेपछि एनबीएले प्रदेशका अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्ने निर्णय गरेको हो। अहिले विभिन्न मुलुकबाट अक्सिजन सिलिन्डर पर्याप्तमात्रामा आइसकेकोले अब अक्सिजन प्लान्ट स्थापनालाई प्राथमिकतामा राखिएको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए। ‘अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक सामग्री जुन देशबाट छिटो ल्याउन सकिन्छ, त्यहीँबाट ल्याइनेछ’, उनले भने। 

प्रदेशका अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने विषयमा २७ वटै वाणिज्य बैंकहरुसँग कुराकानी भइसकेको पनि शर्माले जानकारी दिए। ‘यसमा सबै बैंकहरु सकारात्मक छन्, अब छिटै प्लान्ट स्थापनाका लागि प्रक्रिया अगाडि बढाउँछौँ’, उनले भने।

शर्माका अनुसार संघ र प्रदेश सरकारमा आएका मागका आधारमा प्राथमिकता हेरी एनबीएले प्लान्ट स्थापना गर्नेछ। ‘अस्पतालहरुमा अक्सिजन प्लान्टसँगै आवश्यकताका बमोजिम आईसीयू र भेन्टिलेटर बनाउन पनि एनबीएले सहयोग गर्नेछ’, उनले भने। 

शर्माका अनुसार बैंकहरुको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यी कार्य हुनेछ। नेपाल राष्ट्र बैंकको नीतिअनुसार हरेक बैंकले नाफाको १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिने कार्यमा खर्च गर्नुपर्ने हुन्छ।