काठमाण्डौ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकरर्स एसोसिएसन(एनबीए) फिनटेलेक्ट एड्भाइजरी सर्भिसेससँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। 

फिनटेलेक्ट एड्भजाइरी सर्भिसेस सम्पत्ति शुद्धीकरण(एएमएल), आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण(सीएफटी) र वित्तीय अपराध अनुपालन सम्बन्धि विश्व विशेषज्ञ कम्पनी हो। एनबीए र फिनटेलेक्ट एड्भाइजरी सर्भिसेसबीच समझदारीपत्रमा मे २५ मा एनबीएको काठमाण्डौस्थित कार्यालयमा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा एनबीएका तर्फबाट अध्यक्ष अनिलकुमार उपाध्याय र फिनटेलेक्टका तर्फबाट म्यानेजिङ डाइरेक्टर शिरीष पाठकले हस्ताक्षर गरेका छन्। समझदारीपत्रमा एनबीएका सदस्य बैंकहरुलाई सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी वेभिनार, वर्कसप र कार्यकारीहरुलाई ब्रिफिङ सेसन प्रदान गर्न सहकार्य गर्ने सहमति बनेको छ। 

यस्तै यी दुवै संस्थाहरुले बैंकभित्र नीतिगत निर्णयहरुमा सहयोग गर्न र सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका विविध विषयमा नियामकहरुलाई सल्लाह–सुझाव प्रदान गर्न अनुसन्धानात्मक अध्ययन गर्नेछन्। 

यस्तै फिनटेलेक्टले बैंकहरुलाई सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सुशासन ढाँचा अभिवृद्धि गर्न रणनीतिक परमार्शसमेत प्रदान गर्नेछ। ‘फिनटेलेक्टले आफ्नो उच्च गुणस्तरिय ज्ञान, स्रोत र योग्य विश्वव्यापी सल्लाहकारहरुमार्फत नेपालको बैंकिङ उद्योगलाई थप प्रभावकारी र प्रभावशाली रुपमा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणविरुद्ध लड्न सक्षम बनाउन सहयोग गर्नेछ’, पाठकले भने। 

एनबीएका अध्यक्ष उपाध्यायले भने, ‘फिनटेलेक्टसँगको सहकार्य सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका मुख्य विषयमा बैंकिङ क्षेत्रका कर्मचारीहरुको ज्ञान, सीप, प्रभावकारिता र उत्पादकत्व अभिवृद्धि गर्ने एनबीएको उद्देश्य रहेको छ।’

दुवै संस्थाहरुले आगामी दिनका लागि चाँडै नै कार्ययोजनाको खाका तयार गर्ने र नेपालमा बलियो अनुपालन निर्माणका लागि सहयोग गर्ने जनाएका छन्।