काठमाण्डौ । एनबी इन्स्योरेन्सको नाममा संचालन हुँदै आएको निर्जीवन बिमा कम्पनी अबदेखि आइएमई जनरल इन्स्योरेन्स लिमीटेडको नामबाट संचालनमा आउने भएको छ । 
 
निर्जीवन बिमा क्षेत्रमा २० वर्षदेखि अस्तित्वमा रहेको कम्पनी समस्याग्रस्त भएपछि २०७१ साल माघ ५ गतेदेखि आइएमई ग्रुप लगायत अन्य व्यक्तिहरुले खरीद गरी नयाँ व्यवस्थापनसहित २०७२ असारदेखि पुनः संचालनमा ल्याएका थिए । 
 
नयाँ लगानीकर्ता तथा नयाँ व्यवस्थापनले कम्पनी सम्हाले पश्चात विगत ६ बर्षदेखिको हुन नसकेको बार्षिक साधारण सभा सम्पन्न भएको र कम्पनीको नाम र लोगो परिवर्तनको अधिकार समेत असोज १० गते सम्पन्न साधारणसभाले दिएको कम्पनीका अध्यक्ष हेमराज ढकालले जानकारी दिए। 
बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले हाल कम्पनीको चुक्तापूँजी ५४ करोड रहेकोमा ८० प्रतिशत हकप्रद बिक्री गरी ९७ करोड २० लाख पुर्याउने र ५ प्रतिशत बोनस दिएर बिमा समितिले तोके अनुसार १ अर्ब पूँजी पुर्याउने योजना सुनाए । हाल २५ शाखा, १० सेवा काउण्टरसहित ३५ स्थानबाट कम्पनीले सेवा दिइरहेको र १८ वटा शाखा तथा सम्पर्क कार्यालय खोल्न बिमा समितिबाट स्वीकृति पाइसकेको अध्यक्ष ढकालले बताए । हाल कम्पनीमा १६६ कर्मचारी कार्यरत रहेका र शाखा बिस्तारपछि सो संख्या बढेर २५० पुुग्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो कम्पनीले चालुु आर्थिक वर्षको अन्तसम्म १ अर्ब २० करोड प्रिमियम संकलन गर्ने लक्ष्य लिएको छ । पहिलो त्रैमाससम्म ३० करोड संकलन भइसकेको बताइएको छ । यो वर्ष कम्पनीलै २० करोड बढी खूद नाफा गर्ने ढकालले दाबी गरे । 
 
ढकालले करिब ३ वर्षअघि रु.२० करोड भन्दा बढी नोक्सानीमा रहेको कम्पनीलाई लिएर छोटो समयमा नै कम्पनीका लगानीकतार्, संचालक, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुको अथक प्रयासबाट कम्पनीले गति लिएको दाबी गरे । उनले आउने बर्षहरुमा कम्पनीले अझै प्रगति गर्ने कुरामा आफू विश्वस्त रहेको बताउंदै छोटो समयमानै कम्पनीले नेपाली बीमा बजारमा अग्रणी कम्पनीको रुपमा आफनो स्थान सुरक्षित गर्ने बताए । 
 
कार्यक्रममा  कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले आइएमई जनरल इन्स्योरेन्स लिमीटेडको नामबाट सेवा प्रारम्भसंगै अबदेखि कम्पनीको प्रधान कार्यालय नक्शाल काठमाण्डौंबाट ३६५ दिन नै बीमा सेवा प्रदान गर्ने, एक्सटेन्डेन्ड वारेन्टी पोलिसी जारी गर्ने, साइबर पोलिसी र बैंकएसुरेन्स पोलिसी समेत जारी गर्ने घोषणा गरे ।