काठमाण्डौ । उद्योग वाणिज्य महासंघ(FNCCI)को कमजोर नेतृत्वसँग रुष्ट भएर देशभरका उद्योगी व्यवसायीले वैकल्पिक संगठनको खोजी गरिरहेको बेला नेपाल चेम्बर अफ कमर्स(NCC)ले एकपछि अर्को टक्कर दिइरहेको छ । 

केही दिनअघि भन्सार दिवसको अवसरमा उद्योग वाणिज्य महासंघले सहसचिवलाई मात्र उपस्थित गराएर कार्यक्रम आयोजना गर्न सकेको थियो, तर सोही दिन चेम्बरले भने विभागीय मन्त्री र सचिवलाई नै उपस्थित गराएर कार्यक्रम आयोजना गरेर देखाइदियो । अनुभव, पहुँच, एजेन्सीहरुसँगको समन्वय र उद्योगी व्यवसायीसँगको निकटता कायम गर्ने बिषयमा महासंघमाथि एकपछि अर्को गर्दै हाबी हुँदै गएको चेम्बर अफ कमर्सले मन्त्रीपरिषदबाट पारित भएको नयाँ सांगठनिक संरचनाअनुसार निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई देशकै ठूलो दल नेकपा एमालेले ऐतिहासिक सम्मान गर्यो ।

स्थिर सरकारका भावी प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित चेम्बर अधिकारीलाई स्वागत ग्रहण गर्न एमाले पार्टी कार्यालय धुम्बाराहीमै आमन्त्रण गरेपछि यसले महासंघ छाडेर चेम्बरतर्फ लागेकाहरुलाई उत्साहित बनाएको छ भने भावी प्रधानमन्त्रीको यो रेसपोन्सले महासंघलाई क्लबजस्तो बनाउनेहरुमा अर्को भूकम्प पैदा गरिदिको चेम्बरका एक अधिकारीले दाबी गरेका छन् ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कार्यक्रममा बोल्दै कुनै पनि निजी क्षेत्रको संगठनलाई कुनै पनि दलले यसरी सामूहिक रुपमा बोलाएर स्वागत सम्मान हालसम्म नगरेको र एमालेको यो रेसपोन्सले आफूहरुलाई उत्साहित बनाएको बताए ।  

हुन त पछिल्लो समय आफूभन्दा कान्छो संगठन उद्योग वाणिज्य महासंघले चेम्बरलाई महासंघको जस्तै सांगठनिक संरचना किन बनाउन खोजेको  भनेर स्पष्टीकरण सोधेको थियो । चेम्बरले महासंघलाई स्पष्टीकरण समेत दिइसकेको छ । महासंघको नेतृत्व हाँक्नेहरुले अभद्र  भाषा र शैलीमा स्पष्टीकरण सोधेपछि र अदालतसम्म जाने धम्की दिएपछि चेम्बरलाई बलियो संगठन बनाउन लागिपरेका महासंघको पूर्वअध्यक्ष  र पदाधिकारीले देखाइदिनैका लागि यो तारतम्य मिलाएका स्रोत बताउँछ ।

एमालेले पार्टी कार्यालयमै बोलाएर चेम्बरका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गरेपछि सबैभन्दा धेरै तनाव  सरकारी बैंकको २ अर्ब बढी रकम नबुझाएर लामो समयदेखि कालोसूचिमा परेका,  तर खुलेआम हिँडिरहेका झापाली चण्डी ढकाललाई परेको स्रोतको दाबी छ । ‘ढकालले यसअघि आफूलाई ओली निकट देखाएर त्यसैको रवाफ राष्ट्रिय वाणिज्य बैंकका सीइओसम्मलाई देखाउँदै ऋण तिर्न अटेर गरिरहेका थिए ।’ स्रोतले भन्यो–‘ओलीले चेम्बरलाई  यो तहको रेसपोन्स गरेपछि सबैभन्दा बढी चण्डी ढकाल नै अत्तालिएका हुन सक्छन् ।’ 

ती अधिकारीको भनाईमा महासंघलाई अहिले चण्डी ढकालले चलाइरहेका छन् । उनकै  सल्लाह र निर्देशनमा  अध्यक्ष भवानी राणाले महासंघलाई मनोमानी ढंगले चलाएकी, व्यक्तिगत फाइदामा  मात्र नेतृत्व तल्लीन रहेको आरोप समेत उद्योगी  व्यवसायीले लगाउँदै आएका छन् ।

के भने ओलीले ?
चेम्बरको नवनिर्वाचित समूहलाई सामूहिक रुपमा स्वागत र सम्मान गरेर एमाले अध्यक्ष ओलीले समेत आगामी दिनमा निजी क्षेत्रको बलियो संगठनको रुपमा चेम्बरलाई स्वीकार्ने स्पष्ट संकेत दिएका छन् । एमालेका शीर्ष नेताहरु समेत उद्योग वाणिज्य महासंघको नेतृत्वमा रहनेहरुको पछिल्लो भूमिकाप्रति सन्तुष्ट छैनन् । उनीहरुले समेत विकल्प चाहिरहेको बेला एनसीसीले ऐतिहासिक रेसपोन्स र ठाउँ पाउने देखिएको छ । 

चेम्बर टोलीलाई स्वागत गर्दै ओलीले तीव्र र दिगो विकास मुलुकको अहिलेको आवश्यकता रहेको बताएका थिए । राजनीतिक अधिकार प्राप्तीको लडाई समाप्त भएको चर्चा गर्दै उनले अबको एजेन्डा मुलुकलाई आर्थिक समृद्धितिर लानु रहेको बताए । यसका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि वढ्नुपर्ने आवश्यकता उनले औंल्याएका थिए । 

के भने राजेशकाजीले ?
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालकै पहिलो व्यवसायिक संगठन नेपाल चेम्बरको लामो इतिहासमा सिंगो राजनीतिक पार्टीबाट सम्मान पाउनु सम्भबत पहिलो पटक भएको बताउँंदै सम्मानले निजी क्षेत्रलाई थप जिम्मेबार बनाएको महशुश भएको बताए । मुलुकको आर्थिक समृद्धिका लागि सरकारले गर्ने प्रयासमा होस्टेमा हैंसे गर्न आफूहरु तयार रहेको स्पष्ट पार्दै उनंले यसका लागि निजी क्षत्रले निरन्तर सहयोग गर्दै आएको समेत स्मरण गरे ।

मुलुकको आर्थिक समृद्धिका लागि बैदेशिक लगानी आवश्यक रहेको चर्चा गर्दै उनंले यसका लागि नेपाल चेम्वरले राजदूतहरुसँंग छलफल चलाउँंदै आएको समेत कार्यक्रममा जानकारी दिए । 

कार्यक्रममा पार्टीका उच्चपदस्थ व्यक्तित्वहरु तथा नेपाल चेम्वर अफ कमर्सका सम्पूर्ण पदाधिकारी तथा कार्य समितिका सदस्हरु सहभागी थिए ।