काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकलाई अन्य चार विकास बैंक गाभ्न नेपाल राष्ट्रबैंकले अन्तिम स्वीकृति दिएको छ । 

राष्ट्रबैंकको आइतबार साँझ बसेको बोर्ड बैठकले केही संचालकहरुको विरोधलाई पन्छाउँदै ५ बैंकबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो । 

एनसीसी बैंकसँग एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंक मर्जर प्रक्रियामा थिए । मर्जरका सबै प्रक्रिया पूरा गरी पाँचवटै संस्थाले संयुक्त कारोबारका लागि आवेदन दिए पनि नेपाल राष्ट्रबैंकले २ महिना बढी समय बित्दा समेत अन्तिम स्वीकृति दिएको थिएन । 

यो बीचमा मर्जरको क्रममा आएको डिडिए रिपोर्टप्रति असहमति जनाउँदै एनबी समूहका लक्ष्मीबहादुुर र जितबहादुर श्रेष्ठले सो रिपोर्ट कार्यान्वयन नगर्ने आदेश माग्दै अदालतमा मुद्धा दायर गरेका थिए । यो कामले मर्जर प्रक्रियामा केही अन्यौलजस्तो देखिएको थियो । अदालतले डिडिए रिपोर्ट कार्यान्वयन नगर्न नगराउन आदेश दिए पनि राष्ट्रबैंकलाई आफ्नो काम अगाडि बढाउन कुनै निषेध गरेको थिएन । अदालतको यही आशयलाई आधार मानेर लामो समयदेखि अड्किएको अन्तिम स्वीकृति प्रदान गरिएको राष्ट्रबैंक स्रोतले जनाएको छ । 

लक्ष्मीबहादुुर र जितबहादुरकै गलत कामका कारण एनसीसी बैंक समस्याग्रस्त भएको भन्दै राष्ट्रबैंकले हस्तक्षेप गरेको थियो । यो बैंकको व्यवस्थापनमा राष्ट्रबैंकको तर्फबाट कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला संयोजक रहेको टिम आएपछि मर्जर प्रक्रियाले गति लिएको थियो । निरौला नेतृत्वको टिमले सुरुमा कुुमारी बैंकसहित ६ वटा संस्थाबीच मर्जरको सम्झौता गरेर अगाडि बढेको थियो । डिडिए रिपोर्टसमेत भइसकेपछि केही विषयमा विवाद भएपछि कुमारी बैंक जारी मर्जर प्रक्रियाबाट बाहिरिएको थियो । 

त्यसपछि मर्जर प्रक्रियामा अन्य केही संस्थाले समेत बखेडा गर्न खोजे पनि त्यसलाई सम्हाल्दै निरौला नेतृत्वको टिमले सफलता हासिल गरेको हो । मर्जर प्रक्रिया लामो समयसम्म नटुुंगिदा अन्यौलमा रहेका सेयरधनीलाई समेत राहात भएको छ, कारण यी पाँचवटा बित्तीय संस्था लामो समयसम्म मर्जरको प्रक्रियामै रहेका कारण सेयर कारोबार बन्द नहुँदा लगानीकर्ता सबैभन्दा धेरै मारमा परेका थिए । 

स्रोतका अनुसार अन्तिम स्वीकृति आइसकेको र अब मंसिरभित्रै संयुक्त कारोबार सुरु गर्ने गरी काम अगाडि बढाइनेछ । संयुक्त कारोबारको मिति भने सोमबार बस्ने मर्जर कमिटी बैठकले तोक्ने संभावना छ ।  

एनसीसी बैंकसँग चारवटा विकास बैंक मर्ज भएपछि चुक्तापूँजी ५ अर्ब ६६ करोड पुुग्नेछ । कर्मचारीको संख्या १ हजार हुनेछ भने शाखा संख्या ९६ पुुग्नेछ ।