काठमाण्डौ । गत आर्थिक वर्षको प्रस्तावित बोनस सेयरका लागि एनसीसी बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य मंगलबार समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता एनसीसी बैंकको ३२४ रुपैयाँ र गुहेश्वरी मर्चेन्टको १९३ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता एनसीसी बैंकको ३५७ रुपैयाँ र गुहेश्वरी मर्चेन्टको २०८ रुपैयाँ कायम भएको थियो। अब दुवैको सेयरका कारोबार समायोजित मूल्यअनुसार नै खुल्नेछ। 

बैंकले गत आर्थिक वर्षका लागि कुल १०.८१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १०.२६९५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५४०५ प्रतिशत नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश बैंकको आउँदो माघ ९ गते हुने २३ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ। 

यसैगरी गुहेश्वरी मर्चेन्टले गत आर्थिक वर्षका लागि कुल ११.४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशत बोनस र ३.४० नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश कमपनीले यही पुस २८ गते डाकेको १९ औँ वार्षिक साधारसभाले पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि एनसीसी बैंकले आज पुस २१ गते एक दिनका लागि र गुहेश्वरी मर्चेन्टले आजदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्र यी दुवैको प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।