काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र आज चैत १३ गतेबाट निष्कासन गरेको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘९.५०% एनसीसी ऋणपत्र २०८६’ नामक ऋणपत्र निष्कासन गरेको हो। कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ।

सर्वसाधारणका लागि निष्कासन गरिने कुल १२ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ भने बाँकी ११ लाख ४० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा ३ लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ। खरिद आवेदन सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट दिन सकिनेछ। 

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा चैत १८ गते र ढिलोमा चैत २७ गते बैंकिङ समयपछि हुनेछ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

बैंकको यो ऋणपत्रलाई इक्रा नेपालले ‘(इक्रा एनपी) एलबीबीबी’ ग्रेडिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने इन्स्ट्रुमेन्टलाई समयमै वित्तीय दायित्व पूर्ण गर्ने सम्बन्धमा यथेष्ट रुपमा सुरक्षित मानिन्छ। 

दसवर्षे यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक रुपमा ९.५ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।