काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले निष्कासन गरेको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आज चैत १८ गते आवेदन दिने अन्तिम दिन रहेको छ। 

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा ३ लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ। खरिद आवेदन सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट दिन सकिनेछ। 

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘९.५०% एनसीसी ऋणपत्र २०८६’ नामक ऋणपत्र निष्कासन गरेको हो। कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ।

सर्वसाधारणका लागि निष्कासन गरिने कुल १२ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ भने बाँकी ११ लाख ४० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

बैंकको यो ऋणपत्रलाई इक्रा नेपालले ‘(इक्रा एनपी) एलबीबीबी’ ग्रेडिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने इन्स्ट्रुमेन्टलाई समयमै वित्तीय दायित्व पूर्ण गर्ने सम्बन्धमा यथेष्ट रुपमा सुरक्षित मानिन्छ। 

दसवर्षे यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक रुपमा ९.५ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।