काठमाण्डौ । लिलामीमा राखिएको एनसीसी बैंकको सवा २६ लाख कित्ता बढी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन रहेको छ। 

बैंकले गत साउन १५ गतेबाट २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। यो सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिने धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ। 

यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३१ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्छ। 

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा १ हजारले गुणन वा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ। 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।