काठमाण्डौ । लगातार तीनपटक सर्वोत्कृष्ट करदाताको उपाधि हात पारिसकेको एनसेलले चौथौ पटक पनि यो उपाधि हात पार्ने निश्चित भएको छ । 

कम्पनीले आर्थिक वर्ष २०६९/०७०, २०७०/०७१ र २०७१/०७२ मा लगातार तीनपटक सबैभन्दा बढी कर तिर्दै सर्वोत्कृष्ट करदाता बनिसकेको छ । 

एक सरकारी अधिकारीका अनुसार एनसेलले गत आर्थिक वर्ष २०७२/७३ मा रु २८ अर्बभन्दा बढी राजश्व सरकारलाई बुझाएको छ । यद्यपि कर कार्यालयबाट कुन–कुन कम्पनी अथवा करदाता आर्थिक बर्ष २०७२/७३ को उत्कृष्ट करदाताहरुको सूचीमा परे भन्ने आधिकारिक घोषणा मात्र बाँकी छ । 

आर्थिक वर्ष २०७१/७२ मा पनि एनसेलले सरकारलाई २८ अर्ब ६० करोड भन्दा बढी राजश्व तथा शुल्क बुझाएको थियो । गत आर्थिक वर्षमा एनसेलले रेनोल्ड्सको शेयर कारोबारबापत टेलियासोनेराको तर्फबाट झण्डै रू. १० अर्ब कर पनि दाखिला गरेको थियो । यसले गर्दा पनि कम्पनीले तिरेको करको रकम बढेको कर अधिकारीहरुले बताएका छन् । 

‘एनसेलनै एक नम्बर करदाता हुने पक्का देखिएको छ । तर हामीले गर्नुपर्ने अन्य हिसाबहरु बाँकी नै छन् । सधै झै दोस्रो स्थानमा नेपाल टेलिकम र तेस्रोमा सूर्य नेपाल रहने पनि प्राय निश्चित छ।’ आन्तरिक राजश्व विभागका एक अधिकारीले भने । लेखापरीक्षण प्रतिवेदन बुझाउने समयावधि अझै बाँकी रहेकाले कुन करदाताले कति कर तिर्यो भन्ने औपचारिक जानकारी आउने समय चाहि बाँकी छ । 

कर दाखिलाको हिसाब हेर्दा नेपाल टेलिकम भन्दा एनसेल झण्डै रु १५ अर्ब बढी कर तिरेर अग्रणी स्थानमा रहने देखिएको छ । आन्तरिक राजश्व विभागले राख्ने करको हिसाबमा टेलिकम कम्पनीहरुले तिर्ने लाईसेन्स नविकरण शुल्क र ग्रामीण दूरसञ्चार कोषमा गरिएको योगदान लगायत भने समाबेश गरिएको हँुदैन । 

एनसेलले सरकारलाई आफ्नो अनुमति पत्र नवीकरण दस्तुरको किस्ता रू. २.५ अर्ब प्रत्येक आर्थिक वर्ष सकिनु अगावै तिर्दै आएको छ । त्यसैगरी दुरसञ्चार कम्पनीहरुले आफ्नो वार्षिक कुल आम्दानीको २ प्रतिशत रकम ग्रामीण दूरसंचार कोषमा बुझाउँदै आएका छन् ।  

गत वैशाखमा एनसेलले आफूले सरकारी ढुकुटीमा विविध शुल्क, रोयल्टी र कर अन्र्तगत हालसम्म झण्डै रु १२९ अर्ब योगदान गरेको जनाए थियो । साथै, दीर्घकालीन तथा प्रतिबद्ध लगानीकर्ताका रुपमो आउँदा वर्षहरुमा पनि देशको सबैभन्दा ठूलो करदाताको रुपमा आफ्नो अग्रणी स्थान कायम राख्ने लक्ष्य कम्पनीको रहेको बताएको थियो । लगानी तथा विस्तारसँगै एनसेलले राज्य कोषमा गर्ने योगदान प्रत्येक वर्ष बढिरहेको देखिएको हो ।

सरकारलाई आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ मा सबै भन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रुपमा  व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले एनसेललाई प्रतिष्ठित सम्मान ‘व्यवसायिक महत्वपूर्ण व्यक्ति’ अर्थात कमर्सियल्ली ईम्पोर्टेन्ट पर्सन(सीआईपी सम्मान) प्रदान गर्ने प्रस्ताव समेत पेश गरिसकेको छ । यो सम्मान राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने विभिन्न आर्थिक क्षेत्रमा संलग्न व्यवसाय तथा व्यवसायीहरुलाई प्रदान गर्ने गरिन्छ ।