काठमाण्डौ । ‘राष्ट्रको संचार’ भन्ने मूल नारासहित १ करोड ४० लाख बढी ग्राहकमाझ छाइरहेको नेपाल दूरसंचार कम्पनी लिमीटेड(नेपाल टेलिकम)ले ८ बैशाखमा एक पत्रकार सम्मेलनमार्फत सुधारका मार्गचित्र प्रस्तुत गर्यो । सो कार्यक्रम निर्धारित समयभन्दा १ घण्टा ढिलो गरी सुरु भएको थियो, विभागीय मन्त्री(संचारमन्त्री) शेरधन राई ढिलो आएको कारण देखाउँदै । कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्यले प्रस्तुत गरेका सुधारको मार्गचित्र तारिफयोग्य र आशामुखी थियो नै त्योभन्दा बढी टेलिकम संचालक समितिका अध्यक्ष समेत रहेका संचारसचिव दिनेशकुमार थपलियाको धम्कीपूर्ण भाषणले कार्यक्रम अवधि र पछि(अहिलेसम्म) पनि चर्चा पायो, पाइरहेको छ । थपलियाले गलत प्रवृतिका कर्मचारीलाई थर्काइरहँदा अन्य केही कर्मचारीहरुले ताली पड्काएरै साथ दिएका देखिन्थ्यो । कहिले निकै आक्रामक त कहिले सम्हालिएर पुनः कुटनीतिक शैलीमा प्रस्तुत भएका संचार सचिवले करिब पौनेघण्टा समय लिए, यो क्रममा जानी–नजानी आफू अध्यक्ष रहेको टेलिकमभित्रका केही गम्भीर प्रसंगहरु छताछुल्ल पारिदिए । 

‘मेरो टेलिफोनले राम्रो काम गर्दैन थियो, मलाई यसले गम्भीर बनायो ।’ उनले कुराको सुरुवातमै बिषयको सुन्दर ढंगले उठान गर्दै भने–‘मेरो मोवाइल सेट खराब हो कि हाम्रो टेलिकमको सेवा चाहि खराब हो भन्ने कुरा जाँच गर्न मन लाग्यो, जाँचे, मेरो सेट ठीक रहेछ, खराब त हाम्रो सेवा नै पो रहेछ ।’ थपलियाको प्रस्तुतीले प्रारम्भमै काम गर्ने कर्मचारीको मुहारमा निराशा छचल्कियो । त्यसपछि आफूले के कारणले नेपाल टेलिकमको गुणस्तर सुध्रिएन भन्ने विषयमा सोधीखोजी सुरु गरेको बताए । ‘मैले तपाई कर्मचारीहरुसँग व्यक्तिगत रुपमै कुरा गरेँ, समस्या बुझ्ने काम गरेँ ।’ उनले थपे–‘त्यसबेला कर्मचारी मित्रहरुले एकआपसमा दोषारोपण गर्नुभयो । मलाई लाग्यो, टेलिकमभित्रको उत्पादन शाखा छेउमै उजुरी महाशाखा पनि खोलिएको रहेछ ।’ हलमा हाँसोको फोहोरा छुट्यो । 

त्यसपछि अलिक गम्भीर बन्दै सचिव थपलियाले भने–‘६ वटा दूरसंचार प्रदायक कम्पनी भएको देशमा नेपाल टेलिकम एक्लैले ५० प्रतिशत कभरेज दिन सकिरहेको छ, यस्तो अवस्थामा पनि संस्था चलेको छ । त्यसपछि बल्ल मलाई अनुभूत भयो, नेपाल टेलिकम त अवसर  र संभावनाको संस्था रहेछ ।’ उनले यही अनुभूतिको परिणाम सुधारका मार्गचित्र आएको समेत प्रष्ट्याए । 

संचार सचिव थपलियाको भनाईमा टेलिकमको मुख्य समस्या भनेकै काम नगरी डूलेर खाने करिब ४ सय कर्मचारी हुन् । ती कर्मचारीहरुलाई गैरजिम्मेवार बनाउने भूमिका त्यहाँ रहेका पाँचवटा युनियनहरुले गरिरहेका छन् । यस्तै दिक्कलाग्दो अवस्थाप्रति कटाक्ष गर्दै उनी पड्किए–‘विदा दिइएका(भिआरएस कार्यक्रममा विदा भएका, ७ सय भन्दा बढी) भन्दा बढी यहाँ डूलेर खानेछन् । धन्न, कसरी टिकिरहेको छ यो संस्था ?’

उनी त्यसपछि कर्मचारीसँग कडा रुपमा प्रस्तुत भए–‘अब डूलेर खानेका दिन गए । बैशाख मसान्तभित्र प्रत्येक कर्मचारीको हातमा स्पष्ट कार्यविवरण र जिम्मेवारी थमाइनेछ । अब प्रत्येकले दैनिक ८ घण्टा काम गर्नैपर्नेछ । व्यवस्थापनले स्पष्ट रुपमा डूलेर खाने कर्मचारीहरुलाई समेत जिम्मेवार बनाउन जिम्मेवारी तोकिदिनुपर्छ ।’

 

उनले नेपाल टेलिकमभित्र युनियनहरुको दादागिरी रहेको समेत खुलेरै भनिदिए । ‘अब कसैको दादागिरी चल्नेवाला छैन यहाँ ।’ उनले थपे–‘संस्था नै नरहे केको युनियन ? केको दादागिरी ? केको राजनीति र चुरीफुरी ?’

उनले ‘सुधारको मार्गचित्र’ कार्यान्वयनमा आएपछि व्यवस्थापनले कुनै पनि कर्मचारीलाई  असमानताको व्यवहार नगर्ने समेत प्रष्ट्याए । ‘कसैले असमानताको व्यवहार गरे वा कसैले जिम्मेवारी अनुसार काम नगरे संचाल समितिलाई अब त्यो सह्य हुनेवाला छैन ।’ उनले भने–‘तपाईहरु मेरो कुरालाई धम्की नठान्नु होला । धम्की नै ठाने पनि धेरै नै भइहाल्यो भने पनि मेरो सरुवा त होला नि ।’ संचार सचिव थपलियाको संकेत स्पष्ट थियो । युनियनको नाममा नेपाल टेलिकममा स्थापित संगठनमा आबद्धहरु कामै नगरी तलब खाइरहेका रहेछन् । यसको विरोध गर्ने वा उनीहरुलाई तह लगाउन चाहने कुनै संचारसचिव(संचालक समिति  अध्यक्ष) वा प्रबन्ध निर्देशकलाई उनीहरुले तारो बनाउँदा रहेछन् र आफू निकटका मन्त्रीको कान फूकेर सरुवा गर्नेसम्मको हैसियत राख्ने रहेछन । 

उनले कार्ययोजना कार्यान्वयनको बिषयमा युनियनहरुले खबरदारी गर्नुपर्नेमा जोड दिंदै भने–‘संस्थाभित्रका कर्मचारी माकुरा जस्तो हुनु भएन । माकुराको बच्चाले हुर्किएपछि आफ्नै माउलाई खाएर मारिदिन्छ रे, टेलिकम कर्मचारी पनि माकुरा नै बन्ने हो त ?’ 

उनले सुधारका मार्गचित्रले नेपाल टेलिकमलाई देशको निर्विकल्प नम्बर एक दूरसंचार प्रदायक कम्पनी बनाउने दाबी गर्दै हरेक कर्मचारीको कार्य तथा प्रगतिविवरण १५ दिनको अवधिमा संचारमन्त्रीको कम्प्युटरमा जाने बताए । ‘हामी संचारमन्त्री ज्यूले आफ्नै टेबलमा बसेर कम्प्युटरबाटै टेलिकमको कार्य प्रगति हेर्न मिल्ने प्रविधिको समेत विकास गर्दैछौ ।’–उनले सुनाए ।  

संचार सचिव थपलियाले नेपाल टेलिकमको नेटवर्कभित्र कल गर्दा त्यसबाट निश्चित रकम काटी शेयरमा रुपान्तरण गर्ने नयाँ योजना समेत कार्यान्वयनमा ल्याइने जानकारी दिए । ‘एक कलबाट ३ पैसा मात्रै काटियो भने पनि ५ वर्षभित्रमा एउटा ठूलो जलविद्युत योजना निर्माण गर्ने फण्ड जम्मा हुने रहेछ ।’ आफ्नो आँकलन सुनाउँदै उनले थपे–‘बढी भन्दा बढी फोन गर्दा केही पैसा कट्ने प्रणालीको विकास गरी ‘एक कल एक शेयर’को कार्यक्रम आगामी बजेटमै ल्याउने तयारी भइरहेको छ ।’ 

उनले प्रिपेड ग्राहकलाई सापटीको सुविधा समेत ल्याउन लागिएको जानकारी दिए । उनले भाषणको क्रममा हालै नेपाल टेलिकमले पर्यटकहरुलाई निःशुल्क सीमकार्ड वितरण कार्य सुरुवात गरेको, तर त्यो काम केही सातामै अवरुद्ध भएको ‘सिक्रेट’ पनि सुनाइदिए । ‘पर्यटकलाई सीमकार्ड वितरणको त्यस्तो राम्रो काम नै अहिले असफल भएछ ।’ उनले भने–‘यो पाराले कसरी हुन्छ प्रगति ?’

उनले घुमाउरो ढंगले नेपाल टेलिकमका कर्मचारी प्रतिस्पर्धी एनसेलसँग मिलेका गम्भीर आरोप समेत लगाए । ‘प्रतिस्पर्धीको पक्षमा लागेर हामीमाझ नै गद्धारी भयो कि ?’ उनले थपे–‘संस्थामा बसेर अहित चिताउनुभन्दा संस्था छाडेर जानु उत्तम हो, साथीहरुले यो कुरा बुझे हुन्छ ।’

उनले नेपाल टेलिकमका केही प्राविधिक कर्मचारीहरुकै संलग्नतामा गुणस्तरहीन उपकरणहरु खरीद हुने र नेपाल टेलिकमको गुणस्तर चौपट बनाउने काम भइरहेको आरोप समेत लगाए । ‘अब तपाईंले ल्याउनुभएको उपकरणको तेश्रो पक्षबाट पनि गुणस्तर जाँच हुनेछ ।’ नयाँ व्यवस्था बारे सुनाउँदै संचारसचिव थपलियाले कड्किदै भने–‘तपाईका यस्ता हर्कतहरुमा अब कुनै सम्झौता हुन्न । ४ सय कर्मचारीले अब डूलेर खान पाउदैनन् । तपाईका सुधारका शर्त बाहेक अन्य केही पनि सुन्दैनौ हामी । प्रवृतिमा सुधार गरौं र अघि बढौं ।’ 

उनको लामो भाषणपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्न ड्यासमा उक्लिएका संचारमन्त्री शेरधन राईले संचारसचिवका धेरै कुरामा समर्थन जनाउँदै भाषणको सुरुवातमै भने–‘अब टेलिकमलाई नयाँ ढंगले गति दिनुपर्छ, नतिजामुखी काम हुनुपर्छ । आफूले आफूलाई छिटो बदलौं, आग्रह पूर्वाग्रहले कम्पनी चल्दैन । संस्थाप्रति पूर्ण जवाफदेी बनौं, नेपाल टेलिकमलाई नम्बर वान कम्पनी बनाउनैका लागि मैले समेत मेरो अधिकांश समय यसैमा खर्च गरिरहेको छु ।’ उनले आफूले टेलिकमलाई सुधार गर्न खोज्दा त्यसलाई गलत व्याख्या गरिएको प्रति संकेत गर्दै भने–‘विभागीय मन्त्री भएको नाताले मेरो चासोलाई कसै–कसैले हस्तक्षेप भनेर प्रचार गरेछन् । कहीँ कतै कर्मचारी तह लगाउने काइदाको रुपमा समेत बुझ्न खोजिएछ । यस्तो बुझाईलाई तुरुन्त सच्याइयोस् ।’ 

सचिव र मन्त्रीबाटै निकै लामो समयसम्म झाको झराई भेटेका कर्मचारीहरु आपसमा खासखुस गर्न थालिसकेका थिए । मन्त्रीले बोलेर कार्यक्रम टुंगिनै लाग्दा निकै बोलक्कड संचार सचिव थपलियाले माइक पुनः समात्दै अर्को एउटा गम्भीर प्रसंग कोट्याए । ‘एउटा चित्त नबुझ्दो कुरा भन्न छुटाएछु । मैले केही दिनअघि टेलिकमका एकजना साथीसँग उहाँको मोवाइल नम्बर मागेको थिएँ ।’ केही गम्भीर मुद्रामा थपलियाले भने–‘तपाई पत्याउनुहुन्न होला, उहाँले त मलाई अर्को कम्पनीको मोवाइल नम्बर पो उपलब्ध गराउनुभयो । नेपाल टेलिकमकै कर्मचारी आफू कार्यरत संस्थाको सेवाप्रति विश्वास नभएर होला प्रतिस्पर्धी कम्पनीको मोवाइल बोक्नुहुँदो रहेछ ।’ उनले यस्तो प्रवृतिलाई आफू सरकारी विद्यालयमा कार्यरत रही आफ्ना बालबच्चालाई चाहि निजीमा पढाएजस्तो शिक्षक प्रवृतिको संज्ञा दिए । ‘मेरो लागि यो कुरा गम्भीर भयो ।’ उनले प्रष्ट्याउँदै भने–‘टेलिकमको सेवाप्रति विश्वास नलागेरै त होला नि ती मित्रले यस्तो काम गर्नुभएको । तर तपाईं ढुक्क हुनुहोस् म चाहि नेपाल टेलिकम बाहेक अरुको सिम बोक्दिँन, मेरो धर्मभित्र यो कुरा पर्दैन ।’ संचारसचिवको गम्भीर कुरामा समर्थन जनाउँदै कर्मचारीहरुले तालीको पर्रा छुटाए, केहीबेरमा कार्यक्रम समापन भएको घोषणा भयो ।