काठमाण्डौ । नेपालमा संसदीय समितिदेखि केही कर विज्ञ समेतले एनसेलको स्वामित्वमा परिवर्तन हुँदा लाग्ने पुँजीगत लाभकरको दायित्व एनसेलमै स्थापित गर्ने प्रयास गरिरँदा उक्त कारोबारबाट लाभ लिएर हिँडेको एनसेलको बिक्रीकर्ता टेलियालाई भने उत्तरदायी बनाउने प्रयास कतैबाट पनि भएको छैन । 
 
स्विडिस टेलिभिजन एसभिटीले नेपालका कर अधिकृत, सरकारी अधिकारी, अर्थमन्त्री लगायतका साझेदार तथा टेलिया(पहिला टेलियासोनेरा)सँग कुरा गरेर तयार गरेको अनुसन्धानमूलक कार्यक्रमबाट सो कुरा खुलेको हो ।
 
‘कारोबार सम्पन्न हुने बित्तिकै हामीलाई नेपालको कर कार्यालयबाट कारोबार विवरण माग भएको थियो । हामीले तुरुन्तै उक्त कारोबारको विवरण दिन कानूनतः बाध्य नभएको जानकारी गरायौं । त्यसपछि हामीले कुनै पत्र पाएका छैनौं,’ एनसेल बिक्री गरेर हिंडेको टेलियाका प्रमुख कार्यकारी योहान डेनेलिन्डले उक्त कार्यक्रममा बताएका छन् ।
 
सामान्य अवस्थामा कर कार्यालयले यस्तो कारोबारमा १५ प्रतिशत अग्रिम कर कम्पनीमार्फत तथा बाँकी १० प्रतिशत लाभकर बिक्रेताबाट लिने गर्छ । त्यसैले कर कार्यालयले एनसेलको कारोबार हुने बितिक्कै टेलियासँग कारोबार र करको विवरण माग गरेको थियो । तर, त्यसको जवाफमा टेलियाले विवरण बुझाउन आवश्यक नभएको बताएपछि विज्ञ तथा संसदीय समितिहरुले एनसेलबाटै कर उठाउन सरकारलाई दबाव दिइरहेका छन् ।
 
एनसेलमार्फत सरकारमा जानुपर्ने १५ प्रतिशत अग्रिम कर टेलियाले हस्तान्तरण नगरे पनि एनसेलले टेलियाको तर्फबाट जेठ २६, २०७३ मा झण्डै रु १० अर्ब सरकारलाई बुझाइसकेको छ । अब बाँकी १० प्रतिशतमा पनि एनसेललाई नै तिराए यस्तो कारोबारमा बिक्रेता जवाफदेही हुनु नपर्ने नजिर बस्ने खतरा देखिएको छ ।
 
‘आज टेलियाले लाभकर तिरेन एनसेललाई तिराउने । भोलि एक्जिएटाले बेच्दा पनि उसले कर लाग्दैन भनेर हिंड्ला, फेरी एनसेललाई तिराउने ? एनसेलले तिर्दा त आफ्नै आयबाट तिर्छ, जसको असर उसको आयकर लगायत वित्तिय व्यवस्थापनमा पर्छ । अनि के संसदीय समितिले विदेशी लगानीकर्तालाई बाहिर–बाहिर मोटो रकम लाभ लिएर जान दिइरहने र स्थानीय कम्पनीलाई त्यसको कर तिराइरहने हो त ?’एक करविज्ञले भने–‘संसदीय समितिका सदस्यले बुझ्नु पर्छ, यसले गलत नजिर बस्छ, जसले विदेशी लगानीकर्तालाई कानुन विपरीत पोस्ने र स्थानीय कम्पनीलाई धरासायी बनाउने काम गर्ने छ । त्यसैले टेलियालाई जिम्मेवार बनाउनै पर्छ ।’
 
टेलियाले नेपालमा भ्रष्टाचारको समस्या रहेको र लाभकर तिर्न कानुनी आधार पनि भएको बताएको छ । पहिला एनसेलले नै कर तिर्नुपर्छ भन्दै आएका केही विज्ञले स्विडिस टेलिभिजनको उक्त कार्यक्रममा टेलियाले लाभकरको दायित्व लिनुपर्ने माग जोडका साथ उठाएका छन् ।
 
‘हामीले अन्तर्राष्ट्रिय मुद्रा कोष समेतको सहयोग लिएर आयकर ऐन बनाएका हौं । यो अन्य मुलुकका कर कानूनभन्दा आधुनिक छ । टेलियाले जस्तोसुकै संरचना मार्फत लगानी गरेको भए पनि बेचेको त नेपालमै रहेको सम्पत्ति हो । त्यसको मूल्य पनि नेपालमै कारोबार गरेर बढाएको हो । त्यसैले टेलियाले एनसेल कारोबारमा लाभकर तिर्नु पर्छ,’–पूर्व अर्थ तथा मुख्य सचिव विमल कोईरालाले सो कार्यक्रममा भनेका छन् ।
 
पूर्व अर्थसचिव रामेश्वर खनाल तथा विद्याधर मल्लिकले पनि यही कुरामा जोड दिएका छन् । उनीहरुको उक्त भनाईले संसदीय समिति तथा अन्य विज्ञलाई पनि टेलियालाई जिम्मेवार बनाउने तर्फ काम गर्न जागरुक बनाउने देखिन्छ । सम्बन्धित सरकारी निकाय भने टेलियालाई जिम्मेवार बनाउने तर्फ प्रयासरत नै देखिएको छ ।
 
‘एनसेलको कारोबारमा लाभकर लाग्छ । हामी अहिले अनुसन्धानको चरणमा छौं । टेलियाले कर तिर्नु पर्छ,’ ठूला करदाता कार्यालयका प्रमुख शोभाकान्त पौडेलले उक्त कार्यक्रममा भनेका छन् । टेलियाले कर नतिरेमा कर कार्यालयले उक्त विषय सरकारी स्तरमा उठाउने छ,’ पौडेलले उक्त कार्यक्रममा रहेको अन्तर्वातामा भने । ‘टेलियाले पहलकदमी नलिए मैले कर विभागलाई जानकारी गराउने छु, विभागले अर्थ मन्त्रालय हुँदै परराष्ट्रमन्त्रीलाई 
जानकारी गराउने छ, जसको स्विडेन सरकारसँग राम्रो सम्बन्ध छ । त्यसरी हामीले उसलाई पूँजीगत लाभकर तिर भन्न सक्छौं,’ पौडेल भन्छन् ।