काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमा आगामी नेतृत्वका लागि हुने चुनावी प्रतिस्पर्धा अन्तिम अवस्थामा रोचक बन्ने देखिएको छ । 

शेखर गोल्छापछिको अध्यक्ष हुने गरी हाल वरिष्ठ उपाध्यक्षको दौडमा रहेका उम्मेद्वारहरुबीच कडा टक्कर हुने देखिएको हो । 

केही दिनअघिसम्म जिल्लानगरमा चन्द्र ढकालले राम्रो माहौल सिर्जना गरेका थिए । तर, महासंघस्थित स्रोतहरुको दाबीलाई आधार मान्ने हो भने पछिल्ला केही दिनमा चन्द्र ढकालको जिल्लानगरमा माहौल केही बिग्रिएको महसुस गर्न थालिएको छ । 'काठमाण्डौ आएका धेरै जिल्लानगरका केही साथीहरुले चन्द्र ढकालजीलाई भोट गर्ने विषयमा मन परिवर्तन गर्न थालेका हुन् कि भन्ने देखियो ।' महासंघको उच्च नेतृत्वमा पुगेर काम गरिसकेका र हालको चुनावी माहौलमा खुलेर कतै नलागेका एक पूर्व पदाधिकारीले बिजशालासँग भने-'५० प्रतिशत मतभार रहेको जिल्लानगरमै माहौल बिग्रियो भने चुनाव जित्न कठीन हुन्छ ।' 

रातारात के भयो र ढकाललाई समर्थन गर्ने निश्कर्षमा पुगेका जिल्लानगरका मतदाताले मन फेरे त ? ती पदाधिकारीले अनुमान गर्दै भने-'रातारात पैसाको खेल भयो ।' 

केही दिनअघिसम्म ढकाल समूहले सुदुरपश्चिमबाट आउने भोटमा आफूहरुको एकछत्र चल्ने र सबैले आफ्नो टिमलाई भोट गर्ने प्रतिबद्धता जनाएका दाबी गरेको थियो । तर, हिजोदेखि भने सुदुरपश्चिम प्रदेशका भोटरहरुले मन परिवर्तन गरेका छन् । उनीहरुले चन्द्र ढकाल र सो टिमविरुद्ध सार्वजनिक रुपमै आलोचना र टिकाटिप्पणी गर्न थालेका देखिएको छ । 

'ढकाल समूह जिल्लानगरका मतदाताको विषयमा ओभरकन्फिडेन्ट हुँदाको परिणाम पनि हुनसक्छ आजको परिवर्तित अवस्था ।' स्रोतले भन्यो-' प्रतिस्पर्धा निकै कडा हुने देखियो ।'

पछिल्लो समय प्रदेश नम्बर २ का अधिकांश मतदाताले किशोर प्रधान समूहलाई सपोर्ट गर्ने सार्वजनिक घोषणा गरिसकेका छन् । सुदुरपश्चिम प्रदेश पनि प्रधानकै पक्षमा देखिएको छ । बागमति प्रदेशका मतदाता दुवै पक्षमा बाँडिनेछन् । अन्य प्रदेशका मतदाता पनि दुवै पक्षमा बाँडिनेछन् । 

किशोर प्रधानका लागि पनि उनको गृह प्रदेश तथा अझ गृहनगरबाटै झट्का प्राप्त भइसकेको छ । विराटनगर र प्रदेश १ का उद्योगी व्यवसायीहरु नै किशोर प्रधानको पक्षमा एकमत हुन सकेनन् अर्थात किशोर प्रधानले आफ्नै गृहक्षेत्रका मतदातालाई एकमत पार्न सकेनन् । यो विषयले प्रधानलाई पनि झट्का लाग्नसक्छ ।  

प्रदेश १ का मतदाताले पनि ढकाल र प्रधान समूहमा विभाजित भई मतदान गर्ने देखिएकोले ढकाल समूहको ओभर कन्फिडेन्ट ब्रेक हुने संभावना बढेको स्रोत दाबी गर्छ । 

ढकाल केही सुविधाजनक अवस्थामा रहेका भनिएको गण्डकी प्रदेशको माहौल बिगार्न र त्यहाँका मतदातालाई आफ्नो पक्षमा पार्न प्रधान समूह साम, दाम दण्डभेदसहित लागिपरेको छ । यदि मतदानभन्दा केही घण्टा अघिसम्म मात्र पनि गण्डकी प्रदेशका केही मतदातालाई आफ्नो पक्षमा पार्न सक्यो भने प्रधान समूहको अवस्था केही सहज बन्ने स्रोत दाबी गर्छ । 

यसैबीच, पछिल्लो समय एशोसिएसट र वस्तुगत संघमा पनि प्रधान समूह हाबी हुँदै गएका देखिएको स्रोतहरु बताउँछन् । प्रधान समूहबाट एशोसिएसट र वस्तुगततर्फका उपाध्यक्षका बलिया उम्मेद्वारका कारण पनि प्रधानको पक्षमा माहौल सिर्जना भइरहेको स्रोत दाबी गर्छ । तर, ढकाल समूहको विश्लेषणमा भने एशोसिएट र वस्तुगततर्फका उपाध्यक्षमा प्रधान समूहकै उम्मेद्वारहरुको जित हुने देखिए पनि वरिष्ठ उपाध्यक्षका लागि भोट चाहिँ ढकालले नै पाउने छन् । वस्तुगत र एशोसिएटका मतदाताका लागि प्रधान बलिया उम्मेद्वार होइनन् भन्ने ढकाल समूहको विश्लेषण छ । 'वस्तुगत र एशोसिएसट उपाध्यक्ष उहाँहरुले जित्ने र वरिष्ठ उपाध्यक्ष र जिल्लानगर उपाध्यक्ष हामीले जित्ने हाम्रो आँकलन हो ।' ढकाल समूहको चुनावी अभियानका एक सदस्यले बिजशालासँग भने ।

यस्तै, महासंघको चुनावी जोडघटाउमा मारवाडी समुदायको निकै ठूलो भूमिका हुन्छ । महासंघको राजनीतिक गर्ने र नेतृत्व गर्ने मारवाडीहरु एकमत भएर प्रधानको पक्षमा लागेका छन् । यसले समेत प्रधानलाई सहज अवस्थामा पुर्याएको शेखर गोल्छाले आफ्ना निकटकाहरुलाई विश्लेषण सुनाएका छन् । तर, शेखर गोल्छा र पशुपति मुरारकाकै पछि लागेर मारवाडी मतदाताले मतदान गर्छन् भन्ने दाबी उति वैज्ञानिक चाहिँ देखिन्न । 
'पछिल्लो पटक प्रधानको माहौलमा केही सुधार देखिएको छ । ढकाल समूहले भनेजस्तो ठूलो मतअन्तरले जितहार नहुने देखिएको छ ।' स्रोतहरु भन्छन्-'झिनो मतअन्तरले मात्र जितहार हुने देखियो । अन्तिम अवस्थामा जमेर पैसा खर्च गर्न सक्नेले चुनाव जित्ने अवस्था देखियो ।' 

पैसाको खोलो
महासंघका अनुभवी उम्मेद्वारहरुको दाबीलाई आधार मान्ने हो भने पहिला अध्यक्ष र अहिले वरिष्ठ उपाध्यक्ष(स्वतः भावी अध्यक्ष) बन्ने चुनावी दौडमा लाग्ने एक उम्मेद्वारले कम्तीमा १० करोड खर्च गर्नुपर्ने हुन्छ । 'एकडेढ वर्षअघिदेखि नै सुरु हुने चुनावी अभियानदेखि मतदानको अघिल्लो रातसम्मको चलखेलको हिसाब गर्ने हो भने वरिष्ठ उपाध्यक्षका उम्मेद्वारले कम्तीमा १० करोड खर्च गर्नुपर्ने अवस्था हुन्छ ।' महासंघका एक पूर्वअध्यक्षले बिजशालासँग भने-'पैसाले मतदाता किन्नुपर्ने भयो भने थप २-३ करोड बढी खर्च होला ।'