काठमाडौं। नेपाल बैंक लिमीटेडले एफपीओ निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

केही दिनअघि संचालक समितिको बैठक बसेर प्रतिकित्ता २८० रुपैयाँको दरले एफपीओ निश्कासन गर्ने निर्णय गरेको बैंकले प्रक्रियालाई अगाडि बढाउन धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

बैंकले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता एफपीओको मूल्य २८० रुपैयाँ तोकेको छ । 

नेपाल बैंकको एफपीओको यो मूल्यको बिषयमा अण्डरराइट गर्ने मर्चेन्ट बैंकहरुले समेत सहमति जनाइसकेका छन् र उनीहरुसँग अण्डरराइटको सम्झौता पनि भइसकेको छ ।  

बैंकले एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको छ । 

बैंकले २८० रुपैयाँको दरले १ करोड ७६ लाख कित्ता एफपीओ निश्कासन गर्नेछ । 

एफपीओपछि बैंकको चुक्तापूँजी ९ अर्ब ८१ करोडको उचाईमा पुग्नेछ भने प्रिमियमबाट संकलित ३ अर्ब १६ करोड ८० लाख रुपैयाँ जगेडाकोषमा जम्मा हुनेछ । 

हाल बैंकको चुक्तापूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । बैंकमा नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ । एफपीओपछि सेयर स्वामित्व संरचना परिवर्तन भई सरकारको ५१ प्रतिशतमा सीमित हुनेछ । एफपीओ खरीद गर्नेहरुको सेयर स्वामित्व १७ प्रतिशत हुनेछ । 

एफपीओ २८० मै आउने भएपछि यो बैंकको सेयर मूल्य घटेको छ । केही दिनअघि ३३६ रुपैयाँ प्रतिकित्ता रहेको सेयरको मूल्य दोश्रो बजारमा ३२१ रुपैयाँमा झरिसकेको हो ।