काठमाण्डौ । नेपाल बैंक लिमीटेडको एफपीओ बिक्री नहुने संभावना प्रवल बन्दै गएको छ । यो बैंकलाई धितोपत्र बोर्डले ३ दिनअघि मात्र एफपीओ निश्कासनको अनुमति दिएको थियो । 

तर, दोश्रो बजारमै यो बैंकको सेयर मूल्य घटेर प्रस्तावित एफपीओको दर नजिकै पुगेपछि लगानीकर्ताले मरिहत्ते गरेर एफपीओ खरीदका लागि आवेदन नदिने संभावना प्रवल भएको हो ।

नेपाल बैंकले अंकित मूल्य १०० रुपैयाँमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँको दरले एफपीओ निश्कासनको अनुमति पाएको छ । बैंकले २८० रुपैयाँको दरले १ करोड ७६ लाख कित्ता एफपीओ निश्कासन गर्नेछ ।

सोमबार दोश्रो बजारमा नेपाल बैंकको सेयर मूल्य घटेर प्रतिकित्ता २ सय ९८ रुपैयाँ कायम भइसकेको छ । विगत केही दिनदेखि नेपाल बैंकको सेयर मूल्य घट्दो क्रममा रहेकोले मूल्य अझै तल झर्ने संभावना देखिन्छ । 

नेपाल बैंकले यो साताभित्रमा एफपीओ निश्कासन हुनसक्ने बताएको छ । यो हिसाबले हेर्ने हो भने एफपीओ निश्कासन हुने बेलासम्म प्रतिकित्ता मूल्य एफपीओको भन्दा पनि तल पुग्नसक्छ । 

अहिलेकै मूल्य अनुसार पनि लगानीकर्ताले नेपाल बैंकको एफपीओ खरीद नगर्ने संभावना प्रवल देखिएको छ । किनभने दोश्रो बजारमा २९८ रुपैयाँमा फालााफाल पाइरहेको सेयरकै लागि किन एफपीओका आवेदन दिने भन्ने प्रश्न यतिबेला स्वभाविक देखिएको छ ।

एनएमबी बैंकको एफपीओ निबकेर हैरानी भइरहेको बेला नेपाल बैंकको एफपीओले बुटवल पावर कम्पनीको भन्दा पनि झूर प्रदर्शन गर्ने हो कि भन्ने चिन्ता सेयर अण्डरराइट गर्नेहरुले व्यक्त गर्न थालिसकेका छन् ।