काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने सम्बन्धमा बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई पत्राचार गरेको छ। 

हिजो बुधबारैबाट एकीकृत कारोबार प्रारम्भ भएको साबिकको बुद्ध ज्योति संस्थालाई प्राप्ति गर्दाको स्वाप रेसियो १ः०.७६ निर्धारण गर्दा वित्तीय संस्थाको कुल चुक्तापुँजी ५३ करोड  १२ लाख ५ हजार ३८८ रुपैयाँ हुनेछ। यसका साथै नेपाल राष्ट्र बैंकबाट गत साउन ३० गतेको स्वीकृति पत्रानुसार संस्थापक समूह र सर्वसाधारण समूहको सेयर स्वामित्व प्रतिशत ७०ः३० कायम गर्ने प्रयोजनका लागि एफपीओ जारी गर्ने स्वीकृति प्राप्त भएकोले सेबोनमा पत्राचार गरी प्रक्रिया अघि बढाइएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले बताए। 

एकीकृत कारोबारपश्चात मिर्मिरेको चुक्तापुँजी ५३  करोड १२ लाख ५ हजार ३८८ रुपैयाँ, अधिकृत पुँजी ६० करोड रुपैयाँ र शाखा संख्या १५१ हुनेछ। लगानीमा रहिरहेको कर्जा रकम ८ अर्ब ७२ करोड, ऋणी सदस्य संख्या ५९ हजार ७ सय जना कुल सदस्य संख्या १ लाख ३२ हजार १९३ र निक्षेप संकलन २ अर्ब ६८ करोड ३ लाख ९ हजार ३२८ रुपैयाँ रहेको संस्थाले जनाएको छ।