काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको हात्तीसारस्थित कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यमबाट दिउँसो २ बजे सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल ८.४२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशतले हुन आउने बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। कम्पनीको चुक्तापुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको छ।

सभाले बोनस सेयर बाँडफाँडपछि हुने कम्पनीको सेयरपुँजीबराबर जारी र चुक्तापुँजी पुर्याउने तथा कम्पनीको प्रबन्धपत्र र नियमावली सोहीबमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने तथा प्राीपत गर्ने सम्बन्धमा सञ्चालक समितिलाई दिइएको अधिकारलाई निरन्तरता प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले यही वैशाख २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिने योग्य हुनेछन्।