काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको रु. २ अर्बको ऋणपत्रमा आवेदन दिने आज माघ १७ गते अन्तिम दिन रहेको छ। 

गत माघ ३ गतेबाट बैंकले १ हजार अंकित दरका कुल २० लाख इकाइ भएको ‘एभरेष्ट बैंक डिबेन्चर’ नामक ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ।

कुल इकाइमध्ये बैंकले १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी ८ लाख इकाइ भने सर्वसाधारणका लागि निष्कासन गरिएको हो। 

आठवर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा १ लाख इकाइसम्म आवेदन पेस गर्न पाउनेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयरु र मेरो सेयरबाट दिन सकिनेछ। 

एभरेष्ट बैंकको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन्। 

नेपाल धितोपत्र बोर्डले एभरेष्ट बैंकलाई गत मंसिर २० गते ऋणपत्र निष्कासनको अनुमति दिएको थियो।