काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ। 

नेप्सेले मर्जर प्रयोजनका लागि यी दुवै कम्पनीको सेयर राख्ने निर्णय गरेको हो। यी दुवै कम्पनीबीच हिजो वैशाख २२ गते मर्जरमा जाने सम्झौता भएको थियो। नेप्से वैशाख २३ गतेदेखि लागू हुने गरी यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। 

हिमालयन जनरल र एभरेष्टबीच बिहीबार १ः१ सेयर स्वाप रेसियोमा मर्जर सम्झौता भएको छ। पुँजीवृद्धि योजनाअन्तर्गत यी दुवै कम्पनी मर्जरमा जान लागेका हुन्। 

बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुका लागि २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको छ। हाल जीवन बीमा कम्पनीहरुको २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको १ अर्ब रुपैयाँमात्रै चुक्तापुँजी रहेको छ। पुँजीवृद्धिका लागि समितिले १ वर्षको समय दिएको छ। 

मर्जर भएपछि पनि हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको चुक्तापुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँमात्रै पुग्ने छ। अहिले हिमालयन जनरलको चुक्तापुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ। चालु आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर दिएपछि तोकिएको पुँजी पुग्नेछ।