– रेखा चन्द

काठमाण्डौ । एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले हाललाई अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने कुनै योजना नरहेको बताएका छन्। 

काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा आज आयोजित बैंकको २८ औँ वार्षिक साधारणसभामा सीईओ खालिङले मर्जर तथा एक्विजिसनको कुनै योजना नरहेको बताएका हुन्। ‘अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि प्रयास नगरेको होइन, प्रयास गरिरहेका छौँ’, उनले भने, ‘राम्रो पार्टनर पाएमा मर्जरमा जाने छौँ तर अहिलेलाई कुनै योजना छैन।’

बैंकका सेयरधनीहरुलाई बढीभन्दा बढी प्रतिफल दिने कोसिसमा आफूहरु रहेको खालिङले बताए। ‘मर्जर बिना अर्गानिक बिजनेस गर्ने प्रयासमा छौँ’, उनले भने, ‘नाफामा अझै सुधार गर्नुपर्ने चुनौती पनि छ।’

सभामा खालिङले सेयरधनीहरुका सुझावलाई मनन गर्दै कार्यान्वयनमा ल्याइने पनि बताए। 

खालिङले आर्थिक वर्ष २०७८–७९ को नगद लाभांश १–२ दिनभित्रैबाट सेयरधनीहरुलाई वितरण गरिने बताए। ‘बोनस सेयर पनि जतिसक्दो छिटो लिस्टिङ गरेर सेयरधनीहरुको डिम्याट खातामा पाउने छौँ’, उनले भने।

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित कुल २०.६८ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) छन्।

सोही सभाले बैंकको अधिकृत पुँजी १० अर्ब रुपैयाँबाट वृद्धि गरी १५ अर्ब रुपैयाँ पुर्याउने भएकोले सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ। 

बैंकले २०६४ असार २० गते २० लाख कित्ता ७ प्रतिशत कन्भर्टेबल प्रिफ्रेन्स सेयर जारी गरेकोमा विवरणपत्रबमोजिम बाँडफाँड गरेको समितिले ३–३ वर्षमा २) प्रतिशत सेयर साधारण सेयरमा परिणत गर्नुपर्ने सर्तबमोजिम २०६७ सालमा प्रथमपटक, २०७० सालमा दोस्रोपटक, २०७३ सालमा तेस्रोपटक, २०७६ सालमा चौथोपटक र २०७९ सालमा अन्तिमपटक साधारण सेयरमा परिणत भएपश्चात पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ। 

सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका प्रतिवेदनमा पनि पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको थियो। यसको अर्थ मंसिर १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउनेछन्।