काठमाण्डौ । एभरेष्ट बैंकले “ई–पैँचो फोन लोन” सुविधा सुरु गरेको छ। 

बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप “इबीएल टच २४”मार्फत बिनाधितो २ लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। ई–पैँचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ। यसमा एक महिनाभित्र वा ३, ६, ९ अथवा १२ महिनाका लागि किस्ताबन्दीमा चुक्ता गर्न सकिने सुविधा समावेश छ। 

यसमा ग्राहकहरुको योग्यता मापनमा विभिन्न प्यारामिटरहरुको प्रयोग गरिएको छ। बैंकबाट गरिएका कारोबार, बैंकमा तलब खाता खोलेको छ या छैन, बक्यौता ऋण लिएको छ या छैन लगायतका अन्य प्यारामिटरको प्रयोग गरिएको छ। यसका साथै यसमा आफुले लिएको कर्जा चाँडै तिर्न चाहने ग्राहकको लागि ऋणको बक्यौतासहित पूर्व भुक्तानीको विकल्प पनि उपलब्ध छ। 

ई–पँैचो फोन लोनका लागि योग्य ग्राहकले कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर भुक्तानी गर्दा ‘बाई नाउ पे लेटर’ सुविधा प्रयोग गर्न सक्नेछन्। यी सेवाहरु लिनका लागि ग्राहकले प्रमाणित इमेल ठेगानाको साथै ई–पैँचो फोनलोनमा दर्ता गर्नुपर्नेछ। 

ई–पैँचो फोनलोनका लागि विभिन्न मापदण्डका आधारमा योग्यता निर्धारण गरी स्वचालित रुपमा कर्जा पाइन्छ। जस्तै– तलब खाता, नियमित कारोबार बैंकसँग कुनै बक्यौता वा ऋण नभएकोजस्ता मापदण्ड रहेका छन्। 

योग्य मानिएका ग्राहकहरुको मोबाइल एपमा ई–पैँचो लोन फोन आइकन आउनेछ र त्यहाँ दिइएको रजिस्टर बटनमा क्लिक गरी रजिष्टर गरेपछि ई–मेल प्रमाणिकरण गर्नुपर्ने हुन्छ। ई–मेल प्रमाणीकरण भएसँगै ग्राहकले रियल टाइममै बिनाधितो कर्जा लिन सक्नेछन्। 

ई–पैँचो फोनलोनका विषयमा बैंकका रिटेल एन्ड एसएमई क्रेडिट प्रमुख विष्णु ज्ञवालीले भने, ‘‘नेपालमा कर्जा पाउनु निकै कठिन छ। कर्जाको सरल पहुँच बढाउन हामीले योग्य ग्राहकलाई ई–पैँचो फोनलोनमार्फत कर्जा उपलब्ध गराउन लागेका छौँ। ई–पैँचो फोनलोन सेवामार्फत कर्जा लिन र भुक्तानी गर्न ग्राहकहरुले कुनै चिन्ता लिनुपर्ने छैन। ग्राहकले मात्रै खाता सन्तुलनमा राखी कारोबार गर्नुपर्नेछ। बाँकी सबै काम हामीले गर्ने छौँ।’

सन् १९९४ बाट सञ्चालनमा आएको एभरेष्ट बैंक, नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा वर्गीकरण गरेको बैंक हो। देशभर ३९ हजार १६७ डेलिभरी च्यानल, १० हजार ९८ आन्तरिक शाखा भएको एभरेष्ट बैंकसँग १५ हजार ७१९ व्यापारिक घराना आबद्ध रहेका छन्। यसका साथै बैंकका २ अन्तर्राष्ट्रिय शाखा र देशभर १३ हजार ३५० एटीएम बुथ रहेका छन्। 

ई–बीएल टच २४ एप डाउनलोड गर्नका लागि आईओएस प्रयोगकर्ताहरुले एप स्टोरबाट र एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोरबाट डाउनलोड गर्न सक्नेछन्।