काठमाण्डौ । एभरेस्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज माघ ९ गते अन्तिम दिन रहेको छ। 

बैंकले गत पुस २५ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिने बिक्री प्रबन्धकमा लक्ष्मी क्यपिटल मार्केटले जनाएको छ। 

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एभरेस्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र–२०८९’ बिक्री खुला गरेको छ। कुल इकाइमध्ये बैंकले १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। 

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइका लागि आवेदन दिन सक्नेछन्। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। 

एभरेस्ट बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७.५ प्रतिशत ब्याज पाउनेछन्।