काठमाण्डौ । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा समान धारणा बनाउन भन्दै बसेको ५ दलीय गठबन्धनको बैठक आज पनि बिना निश्कर्ष सकिएको छ । 

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी जसरी पनि संसदमा टेबल गर्ने अडान राखेपछि बैठक एकघण्टा पनि नबसी सकिएको हो । 

बैठकमा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठक फागुन ७ गते रहेको र त्यतिञ्जेल पर्खिदिन आग्रह गरेपछि गठबन्धनको अर्को बैठक आइतबार(फागुन ८ गते) बस्ने गरी आज सकिएको नेताहरुले बताएका छन् । 

हिजो साँझ ५ बजे समेत सत्ता गठबन्धनको बैठक बसेको थियो । सो बैठकमा समेत सबैले आ आफ्नो अडान दोहोर्याएपछि आज बिहान १० बजे बैठक तय भएको थियो । तर, आजको बैठक पनि बिना निश्कर्ष टुंगिएको हो । 

आइतबारसम्ममा गठबन्धनका दलहरुले आवश्यक गृहकार्य गर्ने र भरसक गठबन्धन फुट्न नदिई एमसीसीलाई अगाडि बढाउने कोणबाट समेत छलफल चलिरहेको छ । 

सत्ता गठबन्धनबीच एमसीसीको विषयमा समान धारणा बन्न नसकिरहेकै बेला प्रधानमन्त्री देउवाले संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनको निवास बालकोटमा गएर भेटेपछि त्यसले राजनीतिमा तरंग ल्याइदिएको छ । गठबन्धन टुटेको अवस्थामा एमालेको समर्थन लिएर एमसीसीलाई पास गराउने गरी कांग्रेसले आवश्यक वैकल्पिक गृहकार्य समेत गरिरहेको स्रोतहरुले दाबी गरेका छन् । एमाले अध्यक्ष ओलीसँग देउवाले भेट गरेपछि माओवादी र नेकपा एस भने सशंकित भएका छन् । यहीकारण गठबन्धन जुनसुकै बेला टुट्न सक्ने आँकलन जारी छ ।