काठमाण्डौ । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समयसीमा सकिन अढाई घण्टा मात्र बाँकी छँदा राजनीतिमा फेरि नयाँ ट्वीस्ट आएको छ । 

केपी शर्मा ओली विरोधी गठबन्धनमा सहभागी भएका एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आफू प्रधानमन्त्री बन्ने गरी नयाँ प्रयासमा लागेका बुझिएको छ । 

नेता नेपाललाई ओलीको विकल्पमा प्रधानमन्त्री मान्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत तयार भइसकेका छन् । कांगे्रस सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा समेत देउवा, प्रचण्ड र नेपालबीच वैकल्पिक सरकार बनाउने र त्यसको नेतृत्व नेपालले गर्ने सहमति बनेको थियो । सोही सहमतिअनुसार नेता नेपाल पार्टीका सांसदहरुको हस्ताक्षर संकलन अभियानमा लागेका छन् । 
नेता नेपालले आफ्ना सहयोगीहरुलाई खटाएर हालसम्म ४० जना एमाले सांसदको हस्ताक्षर गराइसकेका बुझिएको छ । उनी एमालेका ४० सांसद, कांग्रेसका ६१ सांसद र माओवादी केन्द्रका ४९ सांसद तथा जसपा उपेन्द्र यादव पक्षका १६  सांसदको समर्थनसहित प्रधानमन्त्री बन्ने लाइनमा रहेका नेपाल निकट स्रोतहरुले दाबी गरेका छन् । 

नेपाललाई प्रधानमन्त्री बनाउने र कांग्रेसका रामचन्द्र पौडेललाई राष्टपति बनाउने गरी विपक्षी गठबन्धनहरुको प्रयास अगाडि बढेको स्रोतहरुले बताएका छन् । 

संविधानको धारा ७६ को ५ अनुसार बन्ने सरकारमा पार्टीको ह्वीप लाग्दैन । यसकारण समेत माधव नेपाललाई प्रधानमन्त्री बन्न केही सहज देखिएको छ । 

 

यता, केपी शर्मा ओली पनि नेकपा एमालेको कुल १२१ सिट संख्याका साथ जसपाको महन्थ ठाकुर पक्षको समर्थनमा पुनः प्रधानमन्त्री बन्ने प्रयासमा छन् । ठाकुर पक्षलाई कम्तीमा ७ मन्त्रालय दिने गरी नयाँ सरकार गठन गर्ने उनले चाहेका छन् । 

यसरी प्रधानमन्त्रीका लागि दाबी गर्ने समयसीमा नजिक हुँदै गर्दा राजनीतिमा रोचक घटनाक्रमहरु आउन थालेका छन् । अझ रोचक त फूटको संघारमा पुगेको भनिएको एमालेभित्रको शक्तिसंघर्ष देखिएको छ ।