काठमाण्डौ । नेकपा एमालेले विदेशी शक्तिहरुको इशारामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन तोडेर नयाँ गठबन्धन तयार गरेको र राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । 

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरुसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । 

केहीबेरअघि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत ८ दलको बैठकले राष्टपतिमा कांग्रेसको उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरेपछि एमालेले भोलि नै सरकार छाड्ने संकेत समेत गरेको छ। 

उपमहासचिव ज्ञवालीले विकसित परिस्थितिबारे भोलि बस्ने पार्टीको सचिवालय बैठकबाट निर्णय हुने बताए । गठबन्धन नै टुटिसकेपछि सरकारमा बसिरहनुको अर्थ नहुने र यो विषयमा ठोस निर्णय पनि भोलिकै सचिवालय बैठकले गर्ने उनको भनाई छ । 

उनले प्रचण्डले सत्ता गठबन्धन टुटाएर नयाँ गठबन्धन बनाउने निर्णय गर्नु पछाडि बाह्य शक्तिको दवाबपछिको परिणामको रुपमा बुझ्नुपर्ने उनको भनाई छ । 'प्रचण्डको गठबन्धन बदल्ने कुराले बजारमा चर्चा हुने गरेजस्तो हामी आफ्नो निर्णय आफैं गर्न सक्दैनौं भन्ने पनि देखाएको छ । हाम्रा कुरामा कति हदसम्म बाह्य हस्तक्षेपहरु हुन्छन् भन्ने पनि यसबाट प्रष्टिन्छ ।'-उनले भनेका छन् । 

उनले प्रचण्डले राजनीतिक बेइमानी गरेको, एमालेसँग भएको सहमति तोडेर विश्वसनीय नेताको रुपमा फेरि एकपटक परिचय दिएको भन्दै आलोचना गरेका छन् । नयाँ गठबन्धन बनाउने निर्णयले राजनीतिक अस्थिरताको बिजारोपण भएको समेत उनको टिप्पणी थियो ।