इटहरी । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको एमालेका शीर्ष नेताहरुले संविधानको सफल कार्यान्वयनपछि आर्थिक विकासको युग सुरु हुने बताउँदै आएका छन् । तर के निजी क्षेत्रको सहभागिताबिना नेपालजस्तो देशमा आर्थिक समृद्धिको सपना साकार होला ? पक्कै हुँदैन । यही कुराको अनुभूत गरेका मतदाताहरुको प्रोत्साहन र जोडमा पूर्वाञ्चलकै केन्द्र इटहरीमा शुक्रबारदेखि सुरु भएको एमालेको प्रथम इटहरी उपमहानगर कमिटीको अधिवेशनमा सचिव पदका लागि एक चर्चित पर्यटन व्यवसायीले उम्मेद्वारी दिएका छन् । 
 

लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय रहेका युवा देवी गौतम(रविन)ले एमालेको इटहरी उपमहानगर कमिटीको सचिव पदमा आर्थिक समृद्धिको मुद्धासहित उम्मेद्वारी पेश गरेका हुन् । 
 

एमाले इटहरीमा व्यवसायीहरुको राम्रै आबद्धता रहेकोले गौतमको उम्मेद्वारीलाई चासोका साथ हेरिएको छ । बोलीमा मात्र नभई व्यवहारमा समेत निजी क्षेत्रको साथ लिएर आर्थिक समृद्धिको सुन्दर भविष्य निर्माणका लागि समेत व्यवसायीलाई दलहरुको नेतृत्व तहमा पुर्याउन आवश्यक छ भन्ने मान्यतामा विश्वास गर्ने युवापुस्ताहरुले समेत गौतमलाई साथ दिएका छन् । 
 

अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा एमाले महासचिव ईश्वर पोखरेलले इटहरी १ नम्बर प्रदेशको राजधानी हुने घोषणा गरेपछि यो क्षेत्रको सबैभन्दा ठूलो दल एमालेको प्रथम उपमहानगर अधिवेशनको रौनक झनै बढेको छ । यसकारण समेत संभावित प्रदेशको राजधानी हाँक्ने नेतृत्वका लागि समेत एमालेबीच टक्कर सुरु भएको छ । यो दौडमा गौतम पर्यटन व्यवसायी भएको नाताले मात्र नभई, यस क्षेत्रको सक्रिय सामाजिक अभियन्ता भएको हिसाबले पनि निकै अगाडि देखिएका छन् । 
 

इटहरी उपमहानगरपालिकामा हाल १ लाख ४० हजार जनाको बसोबास रहेको छ । नगरपालिकाबाट उपमहानगर बनेको क्षेत्रमा पार्टीहरुले व्यवसायीलाई सधैं प्रयोग मात्र गर्ने, आर्थिक संकट टार्ने साधन मात्र बनाउँदै आएकोले व्यवसायीहरु पनि पार्टीहरुलाई नेतृत्व दिन सक्षम छन् भन्ने कुरा प्रमाणित गर्न आफूले उम्मेद्वारी दिएको गौतमले बताए । ‘व्यवसायी पनि सक्षम छन् भन्ने कुरा अब सबैले बुझ्न आवश्यक छ ।’ उनले भने–‘पार्टीको कार्यकारिणी र विशिष्ट पदहरुमा समेत व्यवसायीको प्रतिनिधित्व हुनुपर्छ, यसले मात्र आर्थिक विकास संभव छ ।’ 
 

उनले आफूले इटहरी क्षेत्रका एमाले समर्थित सबै व्यवसायीको सल्लाह अनुसार उम्मेद्वारी दिएको बताउँदै एमाले पार्टीले भन्दै आएको आर्थिक विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने र यसका लागि समेत मतदाताले आफूलाई मतदान गर्ने विश्वास व्यक्त गरे । 
 

इटहरी एमालेको अधिवेशनका ३ सय २ मतदाता छन् । एमालेको २८ नम्बर शाखाले व्यवसायीको मात्र प्रतिनिधित्व गर्छ । यो शाखाबाट २५ जना भन्दा बढी मतदाता छन् भने भूगोलबाट आएका उद्योगी व्यवसायी समेत गरेर १ सय भन्दा बढी मतदाता छन् । यी सबै मतदातालाई गौतम आफ्नो जित्ने आधार ठान्छन् । उनले आफूसँग पार्टीमा आमूल सुधार गर्ने, उपमहानगरको विकासलाई द्रूतता प्रदान गर्ने स्पष्ट भिजन रहेकोले र समग्र युवाहरुले समेत सोही अनुसारको नेतृत्व चाहेकोले सहजै जित हासिल पार्ने दाबी पनि गरे । 
 

गौतम व्यवसायको अलावा विगत लामो समयदेखि एमालेका सक्रिय कार्यकर्ता पनि हुन् । उनले ०४७ सालदेखि ०५२ सम्म क्याम्पस लेभलमा अखिलको इकाईमा काम गरेका थिए । इलाम बसाईंको क्रममा पार्टीको क्षेत्रीय सदस्यको जिम्मेवारी समेत पूरा गरिसकेका छन् । इटहरीमा व्यवसाय थालेपछि यही क्षेत्रमा सक्रिय उनी पहिला संगठित सदस्य हुँदै तत्कालीन ११ नम्बर शाखा(व्यवसायिको शाखा)को सहसंगठकसम्म भए । अघिल्लो नगर कमिटीका उनी नगर सदस्य पनि हुन् । 
 

उनी राष्ट्रिय स्तरमा पार्टी अन्तरगतको होटेल तथा रेष्टुरेण्ट संघको पूर्वाञ्चल उपाध्यक्ष हुन् भने छाता संगठन होटल व्यवसायी महासंघको केन्द्रीय सदस्यको रुपमा समेत काम गरिरहेका छन् । लामो समयदेखि पर्यटन प्रवद्र्धनमा लागेकै कारण उनलाई केही महिनाअघि सरकारले विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको कार्यकारी सदस्यको रुपमा नियुक्त गरी उनको कामको सम्मान समेत गरेको छ । निजी क्षेत्रको पर्यटनमा सरोकार राख्ने अन्य संघसंस्थामा समेत उनको आबद्धता छ । 
 

उनी लामो समयदेखि व्यवसायिक ब्यानरमा बजार विकासका लागि उत्सव÷महोत्सव आयोजना गर्ने कार्यमा पनि समर्पित छन् । हालै देश–विदेशमा चर्चा कमाएको इटहरीको तालतलैयामा आयोजित अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न गर्न समेत गौतमले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले लामो समयदेखि इटहरी क्षेत्रलाई पूर्वाञ्चलकै पर्यटकीय हबको रुपमा विकास गर्न सरोकारवाला निकायमा पुगेर वकालत पनि गर्दै आएका छन् । 
 

यता, प्रथम उमहानगर अधिवेशनमा समेत केन्द्रदेखिको समस्याको रुपमा रहेको गुटगत उम्मेद्वारी परेको छ । केपी ओली र माधव नेपाल गुटको छुट्टा–छुट्टै प्यानल चुनावी मैदानमा होमिएका छन्, तर गुटगत राजनीति, गुटबन्दी र आपसी विभाजनको चर्का विरोधी पर्यटन व्यवसायी गौतमले गुटभन्दा बाहिरबाट उम्मेद्वारी दिएका छन् । मतदातामध्ये अधिकांशले गुट अन्त हुनुपर्ने र प्यानलको नाममा चरम गुटबन्दीको खेल बन्द हुनुपर्ने माग गरिरहेका कारण समेत गौतमजस्तो स्वतन्त्र उम्मेद्वारले मतदाताको मन जित्नसक्ने आँकलन गरिएको छ ।