काठमाण्डौ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल परिसर भित्र रहेको भन्सार कार्यालयमा एमाले समर्थित पर्यटन मजदूर युनियन यूनिट्राभले विगत ४ दिनदेखि आन्दोलन गरिरहेको छ । 

सबै मजदूर संगठनको समान प्रतिनिधित्व, एजेन्टले गरिरहेको ब्रम्हलुट अन्त, भन्सार कार्यालयको संरचना र प्रणालीगत ढंगले कार्यहरु हुनुपर्ने, कानुन अनुसार भन्सारका कार्य हुनुपर्ने, मजदूरहरुले आफूले तोकेको समयअबधिसम्म काम गर्नुपर्ने लगायतका माग राखी यूनिट्राभमा आबद्ध मजदुरहरु आन्दोलित बनेका हुन् ।

त्रिभुवन बिमानस्थल भन्सार कार्यालयमा एजेन्ट संघले मनोमानी हिसाबले मजदुरहरुको नियुक्ति र राजनीतिक पार्टीको भर्तीकेन्द्रजस्तो बनाएर विगत ३० वर्षदेखि अनियमितता गर्दै आएको एमाले समर्थित मजदुरहरुको आरोप छ ।

कार्यालयका भन्सार प्रमुखले वार्ताका माध्यमबाट समस्या समाधानका उपाय निकाल्न पटक–पटक गरेको आग्रहलाई पनि एजेन्टहरुले बेवास्ता गर्दै हिँडेको भन्द मजदुरहरु आक्रोशित छन् । यी सबै परिदृश्यले त्यहाँ कार्यरत एजेन्टहरु सकेसम्म भन्सारमा ब्रम्हलुट गर्न उद्यत रहेको प्रष्ट हुने यूनिट्राभका महासचिव सुमनप्रसाद पराजुलीले दाबी गरे । 

भन्सारमा प्रतिदिन ३० टन सामान भित्रने गरेको मजदुरहरुको भनाई छ । त्यसमा प्रति केजीको २ रुपैंया ५० पैसाका दरले ग्राहक÷सर्वसाधारणबाट रकम उठाउने गरिएको र श्रमिकको नाममा लुट मच्चाउने गरिएको मजदूरहरुको आरोप छ । 

भन्सारमा भईरहेको अनियमितताबारे राज्य पनि मौन बसेको, हवाई सुरक्षामा ध्यान नदिई मनोमानी ढंगले पास वितरण गर्ने गरेको लगायतका विषयलाई उठान गर्दै उनीहरुले त्यहाँका अनियमितता छानबिन गर्नुपर्ने माग राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने निर्णय पनि गरेका छन् । यसका लागि उनीहरुले मजदुरहरुको हस्ताक्षर संकलन कार्यलाई तीव्रता दिएका छन् । साथै यस विषयमा अर्थ मन्त्रालयको पनि ध्यानाकर्षण गराउने भएका छन् । 

मजदुरहरुले शान्तिपूर्ण आन्दोलनको वेवास्ता गरिए एयरपोर्टमा हुने गरेका सम्पूर्ण कार्यहरु ठप्प पार्न पनि पछि नपर्ने चेतावनी दिएका छन् ।