काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी भारतीय जीवन बीमा निगम(एलआइसी)को २५ प्रतिशत हिस्सेदारी बिक्री गर्ने त्यहाँको सरकारको योजना रहेको खबर बाहिरिएको छ । इकोनोमिक टाइम्सका अनुसार अहिले भारतीय सेयर बजारमा रहेको सो कम्पनीको सेयरमूल्य अनुसार २५ प्रतिशत सेयर स्वामित्व बिक्रीबाट भारत सरकारले २ लाख करोड रुपैयाँ(भारु) प्राप्त गर्ने बताइएको छ । तर, यो स्वामित्व बिक्री कयौं चरणमा गरिनेछ । 

जानकारीकाअनुसार भारत सरकारले बजेटको अन्तर कम गर्नका लागि एलआइसीको यति ठूलो हिस्सेदारी बिक्री गर्न चाहिरहेको हो । तथापि, त्यहाँको सरकारले आइपीओ ल्याउनुअघि संसदको एक्ट परिवर्तन गर्नुपर्छ । किनभने एलआइसीको गठन यही ऐन अन्तर्गत भएको थियो । तत्काल एलआइसीको १० प्रतिशत सेयर स्वामित्व बिक्री गरी ८० हजार करोड रुपैयाँ जुटाउने सरकारको योजना रहेको समाचारमा उल्लेख छ । यसैका लागि एलआइसीले आइपीओको  तयारी गरिरहेको छ। 

एलआइसीको आइपीओका लागि अहिले नै समय तोकिसकिएको छैन, तर जारी वित्त वर्षभित्र आउने विश्वास गरिएको छ । सरकारको लक्ष्य यही वित्त वर्षभित्र २.१० लाख करोड रुपैयाँ आफ्नो स्वामित्व रहेका कम्पनीहरुको सेयर बेचेर जुटाउने रहेको छ । यसमध्ये ८० हजार करोड एलआइसीबाट मात्रै उठाउने योजना छ । 

एलआइसीमा रहेको हिस्सेदारी बेचेर भारत सरकारले कोरोनाबाट भएको आर्थिक क्षतिको भरपाई गर्न चाहेको बताइएको छ । त्यहाँको सरकारले मार्च, २०२१ सम्म जीडीपीको तुलनामा फिस्कल डेफिसिटलाई ३.५ प्रतिशतमा राख्ने लक्ष्य लिएको छ । सरकारले जारी वित्त वर्षको अहिलेसम्म विभिन्न कम्पनीको स्वामित्व बिक्री गरी ५७ अर्ब जुटाइसकेको छ । 

एलआइसीमा हालसम्म ३४ करोडभन्दा बढी संख्यामा पोलिसीहरु रहेका छन् । यसको कुल सम्पत्ति ३२ लाख करोड रहेको छ । यो कम्पनीका १.१० लाख कर्मचारी र १२ लाख एजेन्ट रहेका छन् । 

भारतकै सबैभन्दा ठूलो लगानी गर्ने कम्पनीको एलआइसी वार्षिक २ लाख करोडभन्दा बढी लगानी गर्ने गर्छ । यसमध्ये ५० देखि ६० हजार करोड सेयर बजारमा लगाउँछ भने बाँकी ऋणपत्र बजार तथा अन्य उपकरणहरुमा लगानी गर्दै आएको छ । 

सरकारले एलआइसीको अधिकृत पूँजी बढाएर २०० अर्ब बनाउने योजना बनाएको छ । यसलाई २० अर्ब कित्ता सेयरमा बाँडिनेछ ।