काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) को सेयर किन्न चिनियाँ लगानीकर्तालाई रोक्ने तयारी गरिएको छ।

दुई देशबीचको बढ्दो तनावसँगै भारत सरकारले चिनियाँ लगानीकर्तालाई एलआईसीको आईपीओमा लगानी गर्न रोक लगाउने तयारी गरेको हो । भारत सरकारले एलआईसीको आईपीओमा विदेशी लगानीकर्तालाई समेत सहभागी गराउने योजना बनाइरहेको छ। तर एलआईसीमा चिनियाँ स्वामित्व हुन नदिने प्रयासमा पनि सरकार लागिपरेको छ।

एलआईसीजस्तो कम्पनीमा चिनियाँ लगानीले जोखिम निम्त्याउने भन्दै भारतका एक उच्च सरकारी अधिकारीले भने, ‘चीनसँगको सीमा विवादपश्चात अब चीनसँग भारतको पहिलेको जस्तो व्यापार हुँदैन। विश्वासको कमी उल्लेख मात्रामा बढेको छ।’

एलआईसीमा चिनियाँ लगानी रोक्न एलआईसीसँग सम्बन्धित हालको प्रत्यक्ष वेदेशिक लगानीको कानुनमा संसोधन गर्नु वा एलआईसीका लागि एउटा नयाँ विशिष्ट कानुन बनाउने दुईवटा विकल्पहरु रहेको भारतीय अधिकारीहरुले बताएका छन्। 

भारत सरकारको स्वामित्वको एलआईसीले भारतीय जीवन बीमा उद्योगको ६० प्रतिशतभन्दा बढी बजार हिस्सा आगेटेको छ। ५०० बिलियन डलर बढी सम्पत्ति रहेको एलआईसीले १२.२ बिलियन डलरको आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रशासनले बजेट सीमिततालाई समाधान गर्न एलआईसीको ५ देखि १० प्रतिशत स्वामित्व बिक्रीबाट १२.२ बिलियन डलर (९०० बिलियन भारतीय रुपैयाँ) जुटाउने तयारी गरेको छ। सन् २०२२ मार्च महिनामा अन्त्य हुने यही आर्थिक वर्षमा एलआईसीको आईपीओ जारी हुने बताइएको छ। 

एलआईसीको यो आईपीओ भारतमा जारी हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ हुनेछ। 

भारतको वर्तमान कानुनअनुसार एलआईसीमा कुनै पनि विदेशी लगानीकर्ताले लगानी गर्न पाउँदैनन। तर भारत सरकारले वैदेशिक संस्थागत लगानीकर्ताहरुलाई एलआईसीको २० प्रतिशतसम्म आईपीओ खरिद गर्न दिइने जनाएको छ। 

लद्दाख क्षेत्रमा उत्पन्न तनावसँगै गत वर्षदेखि भारत र चीनबीचको राजनीतिक टकराव उत्कर्षमा पुगेको छ। यो घटनापश्चात भारतले संवेदनशील कम्पनी तथा क्षेत्रमा चिनियाँ लगानीमाथि प्रतिबन्ध लगाउँदै आइरहेको छ। 

भारतले चिनियाँ मोबाइल एप र वस्तुहरुको आयातमा रोक लगाएको छ। – एजेन्सी