काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ। 

एलआईसी नेपालले हकप्रद बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको हो। अब एलआईसी नेपालको हकप्रद निष्कासनको कार्य नेपाल एसबिआई मर्चेन्टले गर्नेछ। 

काठमाण्डौको पुतलीसडकस्थित लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको कार्यालयमा आइतबार आयोजित एक समारोहबीच लाइफ इन्स्योरेन्स कर्पोरेसनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दास र नेपाल एसबिआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

नेपाल बीमा प्राधिकरणले गत पुस २१ गते पत्र पठाउँदै लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाललाई हकप्रद सेयर जारी गर्न स्वीकृति प्रदान गरेको थियो। पत्रमा एलआईसी नेपाललाई विशेष साधारणसभामा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएबमोजिम गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको उल्लेख छ। 

कम्पनीले गत माघ ३ गते विशेष साधारणसभा डाकेको थियो। सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशतले हुने अर्थात १ः०.८८४५ को अनुपातले हुने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ।

हकप्रद जारी गरेपश्चात कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी वृद्धि हुने हुँदा सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन पनि गरेको थियो।