काठमाण्डौ । विश्वकै धनीव्यक्ति एलन मस्कको कम्पनी टेस्लाले आफ्ना १ लाख ३० हजार युनिट कार बजारबाट फिर्ता मगाउने निर्णय गरेको छ। 

सेन्ट्रल प्रोसेसिङ युनिट (सीपीयू) मा अत्यधिक तातो हुने समस्या समाधान गर्न विद्युतीय सवारी उत्पादक कम्पनीले कार फिर्ता मगाउने निर्णय गरेको हो। यी कारको टचस्क्रिनमा अत्यधिक तातोका कारण समस्या देखिएको छ। 

द भर्जको रिपोर्टनुसार टेस्लाले भर्खरै आफ्ना केही कारमा देखिएको समस्या समाधान गर्न ओभर–द–एयर अपडेट (ओटीए) जारी गरेको छ। जसमा २०२२ मोडल ३ र वाई २०२१ र २०२२ मोडेल एक्स र एस समावेश छ। कम्पनीले सीपीयू बढी तातो भएका कारण कारको टचस्क्रिन पूर्ण रुपमा ब्ल्यांक हुने समस्या देखिएको जनाएको छ।

यूएस नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनलाई पठाइएको रिकल नोटिसमा भनिएको छ, ‘फास्ट चार्जिङ वा फास्ट चार्जिङका लागि तयारी गर्दा इन्फोटेनमेन्ट सेन्ट्रल प्रोसेसिङ युनिट (सीपीयू)लाई अपेक्षित तापक्रमलाई त्योभन्दा माथि बढ्नबाट रोक्न पर्याप्त रुपमा चिसो गरिन्छ। तर, तापक्रम बढ्ने क्रम रोकिएन। जसले गर्दा सीपीयूको प्रोसेसिङ स्लो हुने वा पुनः रिस्टार्ट हुन सक्ने समस्या देखिएको छ।’ 

अमेरिकी एजेन्सीका अनुसार अत्यधिक तातो हुने समस्याले चालकहरुलाई आफ्नो ब्याकअप क्यामेरा प्रयोग गर्न, टचस्क्रिन प्रयोग गर्न र विन्डसिल्ड वाइपरको गति समायोजन गर्न समस्या भइरहेको छ। 

टेस्लाले गत वर्ष इन्फोटेनमेन्ट प्रणालीलाई पावर गर्ने एएमडी रेजेन आधारित चिपसेटका साथ गाडीहरु पठाएको थियो। यद्यपि, कम्पनीले नयाँ चिपले समस्या उत्पन्न गरेको हो कि भनेर खुलासा गरेको छैन।

गत वर्ष डिसेम्बरमा टेस्लाले खराब ट्रंक ल्याच प्रणालीका लागि लगभग आधा मिलियन मोडेल ३ र मोडेल एस कारहरु फिर्ता मगाएको थियो। –एजेन्सी