काठमाण्डौ । विश्वकै धनीव्यक्ति एवं टेस्लाका सीईओ एलन मस्कको भर्खरैको एउटा ट्विट निकै चर्चाको विषय बनेको छ।

आज बिहान मस्कले ट्विटरमा लेखेका छन्, ‘यदि मेरो रहस्यमय परिस्थितिमा मृत्यु भयो भने म भन्न चाहन्छु कि म तपाइँहरु सबैलाई चिन्न पाउँदै निकै खुसी छु।’

यो ट्विटअघि मस्कले एउटा पोस्ट सेयर गरेका थिए। जुन एउटा बयानको स्क्रिनसटजस्तो देखिन्छ। रुसी भाषामा लेखिएको यो स्क्रिनसटमा यस्तो लेखिएको छ, ‘एलन मस्कले युक्रेनको फासिस्ट शक्तिलाई सैन्य सञ्चार उपकरणहरु आपूर्ति गरिरहेका छन्। एलन मस्क तपाइँको जबाफदेहीता यसका लागि निश्चित हुनेछ, तपाइँले जतिसुकै चलाखीपूर्ण ढंगले मानिसलाई मूर्ख बनाउनुहोस्।’ 

युक्रेनमा रहेको अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले उक्त उपकरण पठाएको दाबी पनि गरेको छ।

मस्कले यो स्क्रिनसटका साथ एउटा प्रमाणित ट्विटर अकाउन्टलाई गरेर यो स्क्रिनसट ट्विटर गरेका छन्। 

दुई पोस्टपछि मस्कले युक्रेनलाई युद्धको बीचमा मद्दत गरेकोमा रुसबाट धम्कीको सामना गरिरहेका छन् कि छैनन् भनेर अनुमान लगाइएको छ।

गत फेब्रुअरीमा मस्कको कम्पनी स्पेसएक्सको स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड सेवा युक्रेनको युद्धग्रस्त क्षेत्रमा सक्रिय थियो। युक्रेनी मन्त्रीसँग सहयोगको अपिल गरेपछि मस्कले यसलाई सक्रिय गरेका थिए।

एक साताअघि मस्कले ट्विटर किन्नका लागि ४४ अर्ब डलरको प्रस्ताव राखेका थिए। जसमा ट्विटरको बोर्ड सहमत भएको थियो। यद्यपि यो सम्झौता अझै पूरा भएको छैन। ट्विटरले आफ्ना सेयरधनीहरुसँग यसका लागि सहमति मागेको छ। तर, यो सम्झौता आगामी दिनमा सम्पन्न हुने विश्वास गरिएको छ। –एजेन्सी