काठमाण्डौ । टेस्ला र स्पेसेक्सजस्ता कम्पनीका सीईओ एलन मस्क जुन २८ मा ५१ वर्षका भए। बाल्यकालमा भिडियो गेम आविष्कार गर्नेदेखि आज विश्वको सबैभन्दा धनी व्यक्ति बन्ने उनको यात्रा निकै रोचक रहेको छ। 

कुनै समय मस्कलाई इन्टरनेट कम्पनीले जागिर दिन अस्वीकार गरेको थियो। आज उनी संसारलाई स्याटेलाइट इन्टरनेट प्रदान गर्दैछन्। यतिमात्रै होइन मस्क मंगल ग्रहमा मानव बस्ती स्थापना गर्न पनि चाहन्छन्।

दक्षिण अफ्रिकामा जन्म

एलन मस्कले अमेरिकाबाट आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्। तर, उनको जन्म २८ जुन १९७१ मा दक्षिण अफ्रिाको प्रिटोरिया सहरमा भएको थियो। उनको पूरा नाम एलन रिभ मस्क हो। उनकी आमा क्यानडाकी हुन्। बुवा दक्षिण अफ्रिकाका थिए। बुबा एरोल मस्क एक इलेक्ट्रिकल इन्जिनियर र पायलट थिए। आमा मे मस्क आहारविज्ञ हुन्। मस्क बाल्यकालदेखि नै होनहार थिए। मस्कलाई कम्प्युटर मन पथ्र्यो। उनले १० वर्षको उमेरमै कम्प्युटर प्रोग्रामिङ सिके। त्यसपछि १२ वर्षको उमेरमा उनले ‘ब्लास्टर’ नामक भिडियो गेम बनाएर कमाउन थाले।

आज यी कम्पनीहरुमा मस्कको राज

मस्कले आफ्नो बनाएको भिडियो गेम अमेरिकी कम्पनीलाई ५०० डलरमा बेचे। भिडियो गेम बनाउन सुरु गरेपछि मस्कले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन। २७ वर्षको उमेरमा मस्कले ‘एक्स डट कम’ नामक कम्पनी खोलेका थिए। तर, सन् १९९५ मा जिपटु नामक टेक कम्पनी खोलेर उनले सफलता हात पारे। त्यसपछि सन् २००४ मा उनले इलेक्ट्रिक कार कम्पनी टेस्ला सुरु गरे।

हाल टेस्ला विश्वको सबैभन्दा ठूलो इलेक्ट्रिक कार कम्पनी हो। यससँगै मस्क स्पेसएक्सका सीईओ पनि हुन्। हालै उनले ४४ अर्ब डलरमा ट्विटर किन्न सम्झौता गरेका छन्। जुन टेक संसारमा अहिलेसम्मकै तेस्रो ठूलो सम्झौता हो।

एलन मस्कको सम्पत्ति कति ? 

फोर्ब्सको रियल टाइम बिलियनेर्स इन्डेक्सका अनुसार एलन मस्क २३४ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वको सबैभन्दा धनी व्यक्ति हुन्। मस्कले २०१७ मा अमेजनका जेफ बेजोसबाट विश्वको सबैभन्दा धनी व्यक्तिको ताज खोसेका थिए र लगभग त्यसबेलादेखि मस्क शीर्ष १० धनी व्यक्तिहरुको सूचीमा प्रभुत्व जमाउँदै आएका छन्।

फर्च्युनको सूचीअनुसार धनीमात्रै होइन एलोन मस्क विश्वकै सबैभन्दा धेरै कमाउने सीईओ पनि हुन्। हालै जारी गरिएको फर्च्युन–५०० प्रतिवेदन अनुसार २०२१ मा मस्कले २३.५ अर्ब डलर तलब पाएका थिए। यसमा २०१८ मा जारी गरिएको एनक्यासिङ स्टक अप्सन पनि समावेश छ। जसको म्याद २०२१ सम्म थियो।

पीएचडी कोर्स छाडेर बने व्यवसायी

आमा–बुवाको सम्बन्धविच्छेदपछि एलन मस्क आफ्नो बुवासँग बस्न थाले। उनको प्रारम्भिक शिक्षा दक्षिण अफ्रिकामा भएको थियो। त्यसपछि उनले उच्च शिक्षाका लागि सन् १९८८ मा क्यानडाको राहदानी लिएर दक्षिण अफ्रिका छाडे। मस्कले फिलाडेल्फियाको पेन्सिलभेनिया विश्वविद्यालयबाट भौतिकशास्त्र र अर्थशास्त्रमा स्नातक डिग्री हासिल गरे र क्यालिफोर्निया गए। यहाँ उनी स्ट्यानफोर्ड युनिभर्सिटीमा पीएचडीका लागि भर्ना भए तर कोर्स पूरा गरेनन्। इन्टरनेटका बारेमा मस्कको धारणा फरक छ। इन्टरनेटमा संसार परिवर्तन गर्ने क्षमता रहेको उनी बताउँछन्। –एजेन्सी