काठमाण्डौ । सामाजिक सञ्जाल कम्पनी ट्विटरले टेस्ला कम्पनीका सीईओ एलन मस्कविरुद्ध कम्पनीसँग ४४ अर्ब डलरको सम्झौता पूरा गराउन अदालतमा मुद्दा दर्ता गरेको छ। 

ट्विटरले अमेरिकी डेलावेयर अदालतलाई मस्कविरुद्ध ट्विटरको प्रतिसेयर ५४.२० डलरको सम्झौता पूरा गर्न आदेश दिन मुद्दा दायर गरेको हो। मस्कले गत शुक्रबार आफूले ट्विटर नकिन्ने घोषणा गरेका थिए। त्यसपछि ट्विटर कानुनी लडाइँ लड्ने निर्णयमा पुगेको छ। 

मस्कले पटकपटक सम्झौताका सर्त तोडेकाले आफू पछि हटेको बताउँदै आएका छन्। उनले नक्कली अकाउन्टको संख्याबारे ट्विटरले जानकारी नदिएको आरोप पनि लगाएका छन्। 

मस्कले ट्विटर किन्नका लागि गत अप्रिलमा एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए। यो सम्झौता ४४ अर्ब डलरमा भएको थियो । तर, अर्को महिना उनले नक्कली र स्प्याम खाताहरुको संख्यामा पर्खिरहेकाले सम्झौता अस्थायी रुपमा होल्डमा रहेको बताएका थिए।

मुद्दामा मस्कले ट्विटर खरिद सम्झौताका नियमहरु उल्लंघन गरेको आरोप लगाइएको छ। आरोपपत्रमा यो पनि भनिएको छ कि मस्कले यो सम्झौताबाट पछि हटेका छन् किनभने यसले अब उनको व्यक्तिगत स्वार्थ पूरा गर्दैन।

ट्विटरका अध्यक्ष ब्रेट टेलरले ट्विट गर्दै लेखेका छन्, ‘माइक्रोब्लगिङ साइटले एलन मस्कलाई सम्झौताको दायित्वहरुका लागि जवाफदेही बनाउन चाहन्छ।’

आरोपपत्रमा एलन मस्कले सम्झौतामा सहमति जनाएपछि टेस्लाको सेयर र स्टक बजारमा गिरावट आयो र टेस्लामा उनको हिस्सेदारी घटेको उल्लेख छ। ‘मस्कको सम्पत्ति नोबेम्बर २०२१ को उच्च बिन्दुबाट १०० बिलियन डलरले घटेको छ, जसका कारण उनी यस सम्झौताबाट बाहिर आउन चाहन्छन्’, आरोपपत्रमा भनिएको छ, ‘मस्क आफैँले बजारमा मन्दी बढाउन चाहँदैनन् तर ट्विटरका सेयरधारकहरु स्थानान्तरण गर्न चाहन्छन्, जुन सम्झौताको विरुद्धमा छ।’ –एजेन्सी