काठमाण्डौ । ट्विटर किनेपछि विश्वका दोस्रो धनीव्यक्ति एलन मस्क सम्पत्ति लगातार घटिरहेको छ। अवस्था यस्तो बनेको छ कि मस्कले आफ्नो इलेक्ट्रोनिक कार कम्पनी टेस्लाको सेयर धमाधम बेच्न थालेका छन्। 

मस्कले पछिल्लो एक वर्षको अवधिमा टेस्लाको ४० अर्ब डलरको सेयर बेचिसकेका छन्। विगत ३ दिनमा उनले २.२ करोड डलरको सेयर बेचेका छन्। 

यसअघि गत २८ अप्रिलमा मस्कले सामाजिक सञ्जालमार्फत टेस्ला बेच्ने आफ्नो कुनै योजना नभएको घोषणा गरेका थिए। रोयटर्स समाचारका अनुसार मस्कले विगत १ वर्षको अवधिमा टेस्लाको करिब ४० अर्ब डलरको सेयर बेचेका छन्। उनले टेस्लाको ९ करोड ४२ लाख २ हजार ३२१ कित्ता सेयर प्रतिकित्ता २४३.४६ डलरको औसत मूल्यमा बेचेका छन्।

४४ अर्ब डलरमा ट्विटर इंक किनेपछि मस्कले टेस्लाको १ करोड ९५ कित्ता सेयर बेचिसकेका छन्। जसबाट उनले ३९.५ अर्ब डलर पाएका छन्। 

मस्कले केही नभनी लगातार टेस्लाको सेयर बिक्री गर्दै आएकाले लगानीकर्ताको नजर उनीमाथि नै परेको छ। 

ट्विटर किनेपछि मस्कको समस्या बढ्दै गएको छ। स्पेसएक्सका सीईओले अक्टोबरमा सामाजिक सञ्जाल कम्पनी ट्विटरको जिम्मेवारी लिएका थिए।

ट्विटर किनेपछि मस्कले आफ्ना कर्मचारीलाई भनेका थिए, ‘म आफ्नो व्यवसाय बचाउन टेस्लाको सेयर बेच्दैछु।’

यो वर्ष टेस्लाको सेयरमूल्यमा गिरावट आएको छ। कम्पनीको सेयरभाउ २.६ प्रतिशतले घटेर १५६.८० डलरमा झरेको छ। कम्पनीको बजारपुँजी ४९५ अर्ब डलर ओर्लेको छ। 

मस्कले धमाधम सेयर बेचे पनि टेस्लामा उनको सबैभन्दा ठूलो सेयर होल्डिङ छ। कम्पनीमा उनको १३.४ प्रतिशत सेयर छ। –एजेन्सी