काठमाण्डौ । भारतमा पेट्रोलियम पदार्थमा ५ प्रतिशतको हाराहारीमा मूल्यवृद्धि गरिएको भोलिपल्ट नेपाल आयल निगमले भने उपभोक्तालाई राहात हुने गरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर ५० रुपैयाँले घटाएको छ । 

निगम व्यवस्थापनले शुक्रबारदेखि लागू हुने गरी ग्यासको मूल्यमा ५० रुपैयाँ कटौति गरेको हो । अन्य पेट्रोलियम पदार्थको मूल्य बढेरै आए पनि घटाइएको छैन । 

आयल निगमका वितरण विभाग प्रमुख सिताराम पोखरेलले बिजशालासँग कुरा गर्दै अब उपभोक्ताले प्रति सिलिण्डर ग्यास १ हजार ३ सय २५ रुपैयाँमा पाउने जानकारी दिए । ‘इण्डियन आयल कर्पोरेसन(आइओसी)ले बिहीबार बिहान पठाएको नयाँ मूल्यसूचि अनुसार ग्यासको मूल्यमा केही समायोजन गरिएको हो ।’ उनले भने–‘अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखिएको छ ।’ उनका अनुसार आइओसीले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाए पनि निगमले आर्जन गरेको नाफाबाट कभर हुने गरी अन्यको मूल्य यथावत राखिएको र ग्यासको मूल्यमा राहात दिइएको हो ।

उनका अनुसार ठूला चाडपर्वको पूर्वसन्ध्यामा उपभोक्तालाई राहात पुग्ने उद्देश्यले ग्यासमा केही भए पनि सहुलियत दिने निर्णय भएको हो । प्रधानमन्त्री प्रचण्ड र विभागीय मन्त्रीले समेत चाडपर्वको मुखमा उपभोक्तालाई राहात हुने काम गर्न निर्देशन दिएका थिए, यही निर्देशनको पालनाको क्रममा समेत ग्यासको मूल्यमा कटौति भएको हो ।