काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बढ्दो आयातले गर्दा विदेशी विनिमय सञ्चितीमा लगातार घट्दो क्रममा हुनुका साथै अर्थतन्त्र संकटमा परेको भन्दै २७ वटा वाणिज्य बैंकका सीईओहरुलाई बैंकहरुले अत्यावश्यकबाहेकका सम्पूर्ण आयातित वस्तुका लागि एलसी नखोल्न कडाइ निर्देशन दिएको छ। राष्ट्र बैंकको उक्त निर्देशनसँगै बैंकहरुले अहिले एलसी बन्द गरेका छन्।  

राष्ट्र बैंकको उक्त निर्देशनसँगै बैंकहरुले गाडी, सुन, सौन्दर्यको सामग्री, चकलेट, कफी गरी झन्डै ३०० वस्तुको एलसी बन्द गरेका छन्। एलसी बन्द भएसँगै समान आयात ठप्प हुँदा ग्राहकका साथै व्यवसायी दुवै मर्कामा परेका छन्। 

एलसी बन्द हुँदा आफूहरु मर्कामा परेको भन्दै व्यवसायीहरु राष्ट्र बैंक, अर्थ मन्त्रालयका साथै विभिन्न फोरममा समस्याको समाधानका लागि छलफल, बहस र भेटवार्ता गर्दै आएका छन्।

बैंकहरुले एलसी रोकिएसँगै बजारमा पर्फ्युम, मेकअपका सामान, डमी कपाल, कपालको क्रिम, लोसन, स्याम्पुलगायत अन्य वस्तुहरुको हाहाकार छ। वैशाखमा विवाहको सिजन सुरु भएसँगै बजारमा समानको कमी र माग उच्च हुँदा ग्राहक सौन्दर्यको समानहरु दोब्बर मूल्यमा किन्न बाध्य भएको अवस्था छ।

राष्ट्रिय सौन्दर्य व्यवसायी संघ नेपालकी अध्यक्ष कमला श्रेष्ठले बैंकहरुले एलसी बन्द गर्दा लाखौँको संख्यामा सौन्दर्य व्यवसायहरु मर्कामा परेको बताइन्। ‘नेपालमा सौन्दर्यको सामग्री उत्पादन हुँदैन’, श्रेष्ठ भन्छिन्, ‘आयातमा भर परेकाले अहिले व्यवसायीमात्र नभएर ग्राहक पनि मर्कामा परेको अवस्था छ।’

बैंकहरुले एलसी रोक्दा साना मझौला व्यवसायी, ग्राहक र तालिम केन्द्रहरुलाई विशेष असर गरेको छ। अहिले विवाहको सिजनले गर्दा पनि बजारमा सौन्दर्यको सामाग्रीको माग उच्च छ। तर, बजारमा समानको हाहाकारले गर्दा ग्राहकले महँगोमा सौन्दर्यको सामग्री खरिद गर्न साथै कम गुणस्तरको सामग्री किन्न बाध्य भएका छन्। 

बजारमा लोसन, कलर, पर्फ्युमलगायत अन्य सौन्दर्यको सामग्रीको मूल्य दोब्बरले वृद्धि भएको श्रेष्ठले बताइन्। ‘तालिम केन्द्रहरुमा विद्यार्थीलाई सिकाउनका लागि सामान्य डमी कपालको पनि बजारमा एक महिनादेखि हाहाकार छ। यस्तो अवस्थामा कसरी तालिम दिएर रोजगारी सिर्जना गर्ने?’, प्रश्न गर्दै श्रेष्ठ भन्छिन्, ‘यसै वर्षदेखि कक्षा ९ देखि १२ सम्म पाठ्यक्रममा सौन्दर्यशास्त्र अप्सनल विषयमा राखिएको छ। बजारमा सामग्रीको हाहाकार भएको बेला कसरी पढाउने भन्ने अन्यौलता बढेको छ।’

बजारमा गुणस्तरीय समानको हाहाकार हुँदा कालोबजारी, मूल्यवृद्धि, गुणस्तरहीन सामग्रीको प्रयोगजस्ता गतिविधि बढ्दै गएको श्रेष्ठले बताइन्।