काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ५ अर्ब ८० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

आज सार्वजनिक चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद बीमा शुल्क रकम अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा २७.८१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ५४ करोडरुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आयबापत २ अर्ब ६ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आय १ अर्ब ५६ करोड रुपैयाँमा सीमित थियो। 

यो अवधिमा कम्पनीले ९९ करोड ३२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले ५२ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीले खुद नाफा ३९.८५ प्रतिशतले बढाएर २५ करोड ४३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष कम्पनीले १८ करोड १८ लाख ६३ हजार २५४ रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ। अघिल्लो वर्ष व्यवस्थापन खर्च ६२ करोड ६८ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर ८२ करोड ५३ लाख रुपैयाँ पुगेको छ। 

जीवन बीमा कोषको आकार २२.५२ प्रतिशतले बढेर २६ अर्ब ४८ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष जीवन बीमामा २१ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो। अघिल्लो वर्ष ५४ करोड ७० लाख ६५ हजार २९८ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ८९ करोड ९२ लाख ६५ हजार ८८० रुपैयाँ भएको छ। 

यो अवधिमा कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या ३ लाख २५ हजार ६१ रहेको छ। अघिल्लो वर्ष कुल कायम रहेको बीमालेखको संख्या २ लाख ९० हजार ७२३ रहेको थियो। 

चुक्तापुँजी २ अर्ब १ करोड रहेको कम्पनीको प्रतिसेयर आम्दानी १२.६५ रुपैयाँ, पीई अनुपात १०६.५७ गुणा र प्रतिसेयर नेटवर्थ १४९.२४ रुपैयाँ रहेको छ।