काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १२ करोड १३ लाख बढी खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ३१९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीको नाफा २ करोड ७६ लाखमा सीमित थियो । 

कम्पनीले दोश्रो त्रैमाससम्म २ अर्ब २८ करोड खूद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ७३ करोड बिमा शुल्क आर्जन गरेको थियो । 

कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय बढाएर ७१ करोड २४ लाखको उचाई चुमाएको छ । अघिल्लो वर्ष यस्तो आय ६५ करोड १५ लाखमा सीमित थियो । 

बिमालेखको धितोमा कर्जाबाट हुने आय २ करोड १३ लाख बढाएर ४ करोड ८४ लाखको उचाईमा पुर्याएको छ भने अन्य प्रत्यक्ष आय समेत १ करोड ३७ लाखबाट वृद्धि भई १ करोड ९८ लाख पुगेको छ । 

समीक्षा अवधिमा एशियन लाइफ इन्स्योरेन्सले २९ करोड ६३ लाख बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो दाबी भुक्तानी १५ करोडमा सीमित थियो । 

यो अवधिमा कम्पनीको बिमा कोषको आकार बिस्तार भई १९ अर्ब ३१ करोडको भएको छ । अघिल्लो वर्षको यही अवधिसम्म जीवन बिमा कोषको आकार १५ अर्बमा सीमित थियो । 

यो अवधिमा जगेडा तथा कोषमा ४७ करोड ४४ लाख, महाविपत्ति जगेडामा ५ करोड ५२ लाख जम्मा भएको छ । 

समीक्षा अवधिसम्म कम्पनीमा २ लाख ८३ हजार ३९५ बिमालेख कायम भएको छ भने यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.०७ रुपैयाँ रहेको छ । 

पीई अनुपात ३५.११ गुणा, प्रतिसेयर नेटवर्थ १२६.३४ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११०७.१५ रुपैयाँ कायम भएको छ ।