काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ औँ वार्षिक साधारणसभा आज बाराको सिमरास्थित होटेल क्लासिकमा सम्पन्न भएको छ।

सभाले आगामी ४ वर्षका लागि संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना गरी ६ जना सञ्चालक निर्वाचित गरेको छ। नवनिर्वाचित सञ्चालकहरुमा संस्थापक सेयरधनीका तर्फबाट दिपककुमार श्रेष्ठ, सुरेन्द्रकुमार गोयल, सुशान्त चाचान र निष्ठा प्रधानाङ्ग राजभण्डारी छन्। सर्वसाधारण सेयरधनीका तर्फबाट शौरभ रुंगटा र सजल मास्के निर्वाचित भएका छन्। 

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष दिपककुमार श्रेष्ठद्वारा पेस गरिएको आर्थिक वर्ष २०७५/७६  को वार्षिक प्रतिवेदन बहुमतले अनुमोदन भएको छ। 

२०६४ साल चैत्र २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको २०७८ साल असार मसान्त सम्ममा रु.२६ अर्ब ४८ करोड ७७ लाखको जीवन बीमा कोष र रु.२४ अर्ब ७२ करोड १५ लाख लगानी तथा कर्जामा रहेकोे छ। त्यसैगरी कम्पनीले यो अवधि सम्ममा कूल रु.२९ अर्ब ५३ करोड ७८ लाख बीमाशुल्क आर्जन गरिसकेको छ।

कम्पनीले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म ४२ वटा शाखा तथा १०६ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ। ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै लघु म्यादी, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिकसहित २३ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको छ।

आगामी दिनहरुमा नेपालका ७७ वटै जिल्लाका अधिकांश गाउँमा समेत जीवन बीमाको पहुँच पुर्याई सर्वसुलभ बीमा सेवा प्रदान गर्ने तथा समयसापेक्ष र आकर्षक तथा नयाँ बीमा योजनाहरु ल्याउने कम्पनीको योजना रहेको छ।