काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ।

काठमाण्डौको मैतीदेवीस्थित एशियन लाइफ भवनमा भर्चुअल माध्यमबाट सम्पन्न वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षको सञ्चित नाफाबाट चुक्तापुँजीको कुल २७ लाभांश अनुमोदन गरेको हो। जसमा २५ प्रतिशतले हुन आउने ५० करोड २६ लाख ९० हजार १८१.८५ रुपैयाँबराबरको बोनस सेयर र २ प्रतिशतले ४ करोड २ लाख १५ हजार २१४.५५ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

कम्पनीको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल लिमिटेडमा सामूहिक लगानी कोष सञ्चालन गर्न सम्बन्धित नियामक निकायबाट स्वीकृति लिन र कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाकोे बहुमतबाट पारित भएको छ। सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको छ। 

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष दिपककुमार श्रेष्ठबाट पेस गरिएको उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै गत आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षण समितिको सिफारिसबमोजिम बाह्य लेखा परीक्षक एसएआर एसोसियट्स, चार्टड एकाउन्टेन्ट सुनिलकुमार ढुंगेलको नियुक्ति र पारिश्रमिक पनि अनुमोदन गरेको छ। 

२०६४ साल चैत २१ गतेदेखि कारोबार सञ्चालन गरेको कम्पनीको २०७८ साल पुस मसान्तसम्ममा रु.३० अर्ब जीवन बीमा कोष र करिब रु. ३० अर्ब लगानी तथा कर्जा रहेकोे छ। त्यसैगरी कम्पनीले आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्ममा कुल रु. १ अर्ब ६ करोड २४ लाख प्रथम बीमाशुल्क र रु.३ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ४७ वटा शाखा तथा १०३ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ। ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै लघु म्यादी, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिक सहित २६ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको छ।