काठमाण्डौ । भारतको अडानी ग्रुपका मालिक गौतम अडानी एशियाकै दोश्रो धनी व्यक्ति बन्न सफल भएका छन् । गत एक वर्षको कुरा गर्ने हो भने उनले प्रत्येक दिन भारु १००२ करोड(नेरु १६०३ करोड) रुपैयाँ कमाएका छन् । हाल उनको कुल सम्पत्ति ५.०५ लाख करोड भारु रहेको छ ।

एकवर्षअघिसम्म उनको कुल सम्पत्ति १.४० लाख करोड भारु रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 

भारतको सबैभन्दा धनी परिवार मुकेश अम्बानीको परिवार रहेको छ । उनले चाहिँ गत एक वर्षमा प्रत्येक दिन १६३ करोड भारु कमाएका छन् । उनको सम्पत्तिमा ९ प्रतिशतको बढोत्तरी भएको छ । उनको कुल सम्पत्ति हाल ७.१८ लाख करोड भारु रहेको छ । अम्बानीको तुलनामा अडानीले गत एक वर्षको अवधिमा दैनिक ६ गुणा बढी पैसा कमाएका थिए । 

वेल्थ हुरुन इण्डियाको रिच लिस्ट २०२१ अनुसार गौतम अडानीको सम्पत्ति एक वर्षको अवधिमा करिब ४ गुणाले बढेको छ । ५९ वर्षीय अडानी यही कारण फेरि एशियाको दोश्रो धनी व्यक्ति बन्न सफल भएका छन् । 

यही वर्षको मे महिनामा पनि उनी एशियाको दोश्रो धनी व्यक्ति बनेका थिए । तर, उनको कम्पनीमा विदेशी लगानीको खबरले जून महिनामा उनका कम्पनीहरुको सेयरमूल्यमा तीव्र गिरावट आएको थियो । यसका कारण अडानीका निजी सम्पत्ति भने घटेको थियो । 

तर, पछिल्लो केही समयदेखि अडानीका कम्पनीहरुको सेयरमूल्य लगातार बढिरहेको छ । यहीकारण उनले एशियाको दोश्रो धनीको रुपमा रहेको चीनका अर्बपति झोंग शानशानलाई पछाडि पारिदिएका छन् । यस्तै, पहिलोपटक अडानी र दुबईमा बसोबास गर्ने उनका भाई विनोद अडानी दुवैजना वेल्थ हुरुन इण्डियाको धनीको सूचीमा टप १० भित्र समेटिएका छन् । उनका भाई हाल एशियामा ८ औं नम्बरका धनी व्यक्तिको रुपमा रहेका छन् । गत वर्ष उनी १२ औं नम्बरमा थिए।

रिपोर्टका अनुसार विनोद अडानीको सम्पत्ति १.३१ लाख करोड भारु रहेको छ । एक वर्षको उनको सम्पत्ति २१ प्रतिशतले बढेको छ । 

आइटी कम्पनी एचसिएल टेकका शिव नाडार तथा उनको परिवारको सम्पत्ति एक वर्षको अवधिमा ६७ प्रतिशतले बढेको छ । कुल २.३६ लाख करोड भारुसहित नाडार यो सूचीको तेश्रो स्थानमा छन् ।